फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बौरिँदै तातोपानी नाका

(GMT+08:00) 2019-09-22 18:55:53
औपचारिक रूपमा तातोपानी नाका सञ्चालनको घोषणा भएको तीन महिनापछि नाकाले गति लिन थालेको छ। दसैं नजिकिएसँगै तातोपानीबाट व्यावसायिक प्रयोजनका सामान आयातमा वृद्धि भएपछि नाकामा चहल पहल बढेको अन्नपूर्णपोस्टले लेखेको छ।

प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतका अनुसार औपचारिक नाका सञ्चालनमा आएदेखि फाट्ट फुट्ट सामान आएको तातोपानीस्थित सुख्खा बन्दरगाहमा तीन दिनयता दैनिक २० देखि २५ गाडीसम्म सामान आएका छन्।

२०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याइएको थियो। नवनिर्मित र आधुनिक सुख्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको तीन महिना खासाबाट सामान नआउँदा खासै व्यापारिक कारोबार हुन सकेको थिएन। प्रमुख भन्सार अधिकृत बस्नेतले चीनबाट सामग्री भित्रिन थालेको तर नाकाबाट विगतमा अत्याधिक आउने तयारी पोसाक भने उल्लेख्य मात्रामा नआएको बताए।

दैनिक औसत एक–दुई कन्टेनर चिनियाँ सामग्री भित्रिने गरेको तातोपानी नाकाबाट रसुवागढीको बाटो पहिरोले रोकिएपछि सामान आउने क्रम बढेको छ। खासामा व्यवस्थित स्टोर नभएकाले अपेक्षा गरे जसरी नाकाबाट सामान आउन नसकेको व्यवसायी बताउँछन्। दसैं तिहारजस्ता चाडबाड आएकाले नाकाको कारोबार झन्डै पूर्ववत् अवस्थामा फर्कंन सक्ने भन्सार अधिकारी र व्यापारीको अनुमान छ। चार वर्षपछि दसैंका लागि नाकाबाट भेडा च्याङ्ग्रा लिन व्यापारी तातोपानी नाकाबाट तिब्बत गएका छन्।

भन्सारले कारोबार थालेयता चीनबाट नाका भएर ऊन, पावर ट्रेलर, स्पिकर, जुत्ता, चप्पललगायत सामग्री भित्रिएका थिए। पछिल्लो तीन दिनदेखि स्याउ बोकेका कन्टेनर पनि आउन थालेका छन्। ऊन आयात बढी छ। नाका सञ्चालनमा आउनुपूर्व भूकम्पले क्षतिग्रस्त बनाएको मितेरी पुल, नेपालतर्फको सडक मर्मत चीन आफैंले गरेको थियो। नेपालको लामो कूटनीतिक प्रयासपछि चीन बन्द तातोपानी नाका खुलाउन सैद्दान्तिक सहमतिमा पुगेको थियो। नाका बन्द हुनुअघि तातोपानीबाट वार्षिक २० अर्ब आयात/निर्यात हुँदा भन्सारले पाँच अर्ब रुपैयाँ राजस्व संकलन गर्थ्यो।

जानकारी तथा लेखहरु