फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाहिरी चक्रपथको जिम्मेवारी चिनियाँ कम्पनीलाई

(GMT+08:00) 2019-09-24 15:11:54

नेपालको लगानी बोर्डको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी चिनियाँ कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो।

परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ। बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका थिए।

कान्तिपुर दैनिकका अनुसार, काठमाडौंको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर बाहिरी चक्रपथ बनाउने सरकारको योजना छ । चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैंजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जाने छ।

सीतापाइलाबाट हलचोक, गैह्रीगाउँ, दौडिनेपानी, नेपालटार, फुटुङसम्म १३ किलोमिटरको दूरी हुने छ। भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुँयालगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघारी, दधिकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाउने डीपीआरमा उल्लेख छ।

जानकारी तथा लेखहरु