फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजबाट बडादशैं सुरू

(GMT+08:00) 2019-09-29 14:18:18

नेपालीहरुको महान् चाड बडादशैँ आज आईतबारबाट सुरु भएको छ। यो चाड प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ। बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ। विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

आजबाट नवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र क्रमिक रूपमा चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी यी नौ दुर्गाको उपासना गरिन्छ। भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको घटना प्रसङ्ग यो बडादशैँसँग रहेको छ। दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा लिइ पूजा गर्ने चलन रही आएको छ।

जानकारी तथा लेखहरु