फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भ्रमण वर्षलाई ३५ करोड

(GMT+08:00) 2019-09-29 14:18:45

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। बोर्डले गत भदौ दोस्रो साता सार्वजनिक गरेको एक अर्ब ६३ करोड रुपैयाँको बजेटमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयलाई १० करोडको एकमुष्ट बजेट उपलब्ध गराएको उल्लेख छ। भ्रमण वर्ष लक्षित प्रत्यक्ष रूपमा पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमका लागि थप २५ करोड रुपैयाँ गरी कुल ३५ करोड विनियोजन गरेको अन्नपूर्णपोस्ट दैनिकले लेखेको छ।

बोर्डले नेपाल भ्रमण वर्षको सचिवालयलाई उपलब्ध गराएको यस्तो रकमबाट बोर्डले नै सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने आवश्यक साथ र सहयोग गर्ने गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न उक्त बजेट विनियोजन गरेको उल्लेख छ। बोर्डले पर्यटन प्रवर्द्धनको काम गर्ने भएकाले भ्रमण वर्षको लक्ष्य पूरा गर्ने गरी आवश्यक कार्यक्रम तय गरेको र सोहीअनुसार अन्य पर्यटन प्रवर्द्धनको कार्यक्रममा पनि भ्रमण वर्षलाई नै दृष्टिगत गरिने उल्लेख छ।

पर्यटन बोर्डको बजेटमा एक प्रदेश एक गन्तव्यको अवधारणा अगाडि सारिएको छ। बोर्डले हरेक प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा उपयुक्त एक गन्तव्य छनोट गर्ने र पूर्वाधारसहितको प्रवर्द्धनका कार्यक्रम गर्ने भएको छ। बोर्डका अनुसार तीन वर्षभित्र सम्पन्न गर्ने गरी सबै प्रदेशमा एकएक वटा नयाँ गन्तव्यको पूर्वाधार बनाउने भएको छ। यस्तो गन्तव्यको विकासका लागि एक करोडदेखि तीन करोड रुपैयाँसम्मको बजेट हरेक आर्थिक वर्ष विनियोजन हुनेछ। यसको कार्यान्वयन कार्यविधि दुई महिनाभित्र बनाइसक्ने उल्लेख छ।

साथै बोर्डले हरेक प्रदेशका पर्यटन प्रवर्द्धन गर्न करिब दुई करोड रुपैयाँका दरले रकम निकासासमेत गरेको छ। एउटा प्रदेशलाई एक पर्यटन गन्तव्यको अवधारणा अनुसार उक्त रकम वितरण गरेको उल्लेख छ। बोर्डले पर्यटन सम्पदा विकासमार्फत पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा नाममा १ नम्बर प्रदेशलाई दुई करोड ६२ लाख, दुई नम्बरलाई एक करोड ९८ लाख, ३ नम्बरलाई चार करोड, पाँच नम्बर प्रदेशलाई दुई करोड २३ लाख विनियोजन गरेको छ। कर्णाली प्रदेशलाई एक करोड ८३ लाख र सुदूरपश्चिम प्रदेशलाई एक करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको छ। गण्डकी प्रदेशमा भने बोर्डको छुट्टै कार्यालय भएकाले यसलाई अझै बढी प्राथमिकता दिएको छ। गण्डकी प्रदेशलाई ९ करोड ६० लाख रुपैयाँका बजेट नै तयार पारेर बजेट विनियोजन गरेको छ।

बोर्डले २०७६/७७ का लागि बजेट सार्वजनिक गरेको छ। उक्त बजेटअनुसार चालू आवमा नेपालको पर्यटन र विकासमा एक अर्ब ६३ करोड रुपैयाँ खर्च गर्ने भएको छ। बोर्डले विनियोजन गरेको यस्तो बजेट अनुसार पर्यटन सम्पदा तथा संशाधन विकास ३० करोड, अनुसन्धान योजना तथा अनुगमन महाशाखामार्फत ५ करोड ७५ लाख, पर्यटन सम्पदा संशाधन विकास गर्न दुई करोड ६२ लाखसहितको बजेट तयार भएको छ। विभिन्न देशमा गरिने प्रवर्द्धन र विदेशी कूटनीतिक नियोगसँगको साझेदारीमा गर्ने कार्यक्रमसहित बजेट खर्च गर्ने उल्लेख छ।

जानकारी तथा लेखहरु