फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

११ स्थानमा शीतभण्डार बन्दै

(GMT+08:00) 2019-09-29 14:19:10

प्रदेश–३ सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४५ करोड रुपैयाँको लगानीमा ११ स्थानमा फलफूल तथा तरकारी भण्डारणका लागि शीतभण्डार निर्माण गर्न लागेको छ। मन्त्रालयका अनुसार स्थानीय तह तथा कृषि सहकारी संघ, संस्थाको साझेदारीमा ८ हजार टनको शीतभण्डार निर्माण गर्न लागिएको हो।

चालू आर्थिक वर्षमा ११ स्थानमै शीतभण्डार तयार हुने कृषि मन्त्रालयको दाबी छ। मन्त्रालयले थाहा नगरपालिका–३ घर्तीखोलामा प्रदेश ३ कै सबैभन्दा ठूलो शीतभण्डार निर्माण गर्न लागेको छ  करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको छ। थाहा नगरमा निर्माणाधीन शीतभण्डारको क्षमता १७ सय टन रहेको छ। दोलखाको भीमेश्वरमा सबैभन्दा कम क्षमताको २ सय टनको निर्माण सुरु भइसकेको कृषि मन्त्रालयका अधिकृत निर्मल पौडेलले बताएको कान्तिपुर दैनिकले लेखेकोछ। यसैगरी, चितवनको खैरहनी र धादिङको बेनीघाटमा १५/१५ सय टनको शीतभण्डारको काम सुरु भइसकेको छ। काभ्रेको बनेपा र रसुवा जिल्लामा ३ सय टन क्षमताको बन्दै छ।

रसुवामा निर्माणाधीन ३ सय टनको शीतभण्डारको काम सबैभन्दा अगाडि बढेको मन्त्रालयले जनाएको छ। यसैगरी सिन्धुपाल्चोकको लिशंखु, इन्द्रावती र दोलखाको जिरीमा, रामेछापको मन्थलीमा र सिन्धुलीको सुनकोसीमा ५/५ सय टनको शीतभण्डारको काम सुरु भएको मन्त्रालयले जानकारी दिएको छ। कृषि मन्त्रालयले काम पूरा भएपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ।

प्रदेश–३ मा निर्माणाधीन शीतभण्डारमा प्रदेश सरकारको ७० र स्थानीयको ३० प्रतिशत साझेदारीमा निर्माण भइरहेका हुन्। शीतभण्डार सञ्चालनमा आएपछि ठूलो परिमाणमा कृषि उपज खेर नजाने, कृषकले आफू खुसीमा बिक्री गर्न पाउने र किसानको क्षतिमा न्यूनीकरण आउनुको साथै स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने कृषि मन्त्रालयको दाबी छ। शीतभण्डारको अभावमा कृषकले आफ्ना उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहँदै आएको छ। उत्पादित तरकारी र फलफूल शीतभण्डारको अभावमा कुहिने डरले कृषकले सस्तो मूल्यमा नै बिक्री गर्दै आएका छन्।

जानकारी तथा लेखहरु