फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेलम्ची खानेपानी आयोजना पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता

(GMT+08:00) 2019-10-01 16:27:12

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो।

बिगतमा सिएमसीले काम पाउँदा दोस्रो नम्बरमा रहेको सिनो हाइड्रो पुनःमेलम्चीमा फर्किएको छ। सिएमसीले अलपत्र पारेको कामको जिम्मेवारी १२ महिनामा पूरा गर्ने गरी कूल ८५ करोड एक लाख ९४ हजार ४ सय ५८ रुपैयाँमा जिम्मा लिएको हो। द्विपक्षीय सम्झौतामा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र सिनो हाइड्रो कर्पोरेशनका तर्फबाट वाङ हुवाले हस्ताक्षर गरेको कारोबार अनलाइनले जनाएको छ।

सिनो हाइड्रोले सिएमसीले काम गर्दागर्दै छाडेको अम्बाथान, ग्याल्थुम र सिन्धुको कूल १ दशमलव ४ किलोमिटर सुरुङको बाँकी सबै काम सम्पन्न गर्नुपर्नेछ। सम्झौताअनुसार सिनो हाइड्रोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार गर्ने जिम्मा लिएको छ। यस्तै स्थानीय ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनःनिर्माण, क्याम्पको मर्मत सुधार लगायतका काम गर्नुपर्छ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले सिनोसँग बाँकी काम गर्ने विषयमा सम्झौता भएको जानकारी दिनुभयो। यस्तै बाँध निर्माणतर्फको सम्झौता पनि केही दिनभित्रै गर्ने तयारी भएको छ । बाँधतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्ग लगायतका काम गर्नुपर्नेछ।

चिनियाँ कम्पनीले ठेक्का पाउनुभन्दा पहिल्यै आयोजनास्थलको स्थलगत निरीक्षण गरी आवश्यक समन्वय गरिदिन सरकारसँग आग्रह गर्दै आएको छ। सम्झौता भएलगत्तै आयोजना स्थलमा परिचालन भएर काम सुरु गर्ने विश्वाससमेत चिनियाँ कम्पनीले दिलाएको छ ।

विशेष गरी नेपालको जलविद्युत् आयोजनामा प्रभावकारी काम गरेको भनेर प्रशंसा पाएको सिनो हाइड्रोसँगको सम्झौता पछि मेलम्ची खानेपानी आयोजनाले गति लिने विश्वास मन्त्रालयले लिएको छ। सिनो हाइड्रोले निर्माणाधीन सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माण समयमै सम्पन्न गर्नेगरी कार्यसम्पादन गरेको थियो। नेपाल विद्युत् प्राधिरकणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाको पनि भौतिक निर्माणको ठेक्का पाएको छ।

सिएमसीले अलपत्र पारेपछि सरकारले विशेष निर्णय गरेर बाँकी रहेको काम १० वटा प्याकेजमा सक्ने गरी विभाजन गरेको छ । सोही क्रममा सिनो हाइड्रोसँग सम्झौता भएको हो । सम्झौताअनुसार निर्माण पछिको एक वर्षसम्म सुरुङको मर्मतसम्भार तथा आवश्यक अनुगमनसमेत सिनो हाइड्रोले नै गर्नुपर्नेछ।

जानकारी तथा लेखहरु