फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन मैत्री वार्तामा ९ बुँदे सहमति

(GMT+08:00) 2019-10-02 13:31:15

नेपाल–चीन मैत्री वार्ता शुक्रबार सम्पन्न भएको छ। उत्तरी सीमावर्तीक्षेत्र कोरलानाकासँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको झोङ्वा, सिगात्से र सागाका स्थानीय प्रशासन र मुस्ताङ प्रशासनबीच तिब्बतको ढुङ्वा जिल्लामा वार्ता भएको हो। दुई देशका प्रशासनिक समकक्षीय अधिकारीहरु बीच भएको वार्ताले ९ बुँदे सहमति गरेको छ।

चीनको ढुङ्वा जिल्लामा भएको नेपाल पक्ष र चिनियाँ पक्षबीच द्धिपक्षीय मैत्री वार्ताले यसअघि भएका वार्ता र छलफलको समीक्षा गर्‍यो। सहमति पत्रमा नेपालले एक चीन नीति र बेल्ट एण्ड रोड इनिसियटिभ प्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल पक्ष र मुस्ताङी समुदाय यसप्रति सचेत रहने सहमति गरेको हो। दुबै देशका अधिकारीहरुले सीमा सुरक्षालाई गतिशील पार्ने र यसका लागि सीमा कानुन लागु गर्ने र सयुक्त कार्य स्थापना गर्न केन्द्र सरकारसमक्ष पहल गर्ने जनाएका छन्।

दुबै देशले सीमानाका आसपास अवाञ्छित गतिविधि नियन्त्रण र सीमानाका चुस्त राख्न सूचना आदान–प्रदान लगायतको संयन्त्र निर्माण गर्न माथिल्लो निकायमा लेखी पठाउने सहमति गरेका हुन्। हातहतियार, खरखजाना र अमेरीकी डलरको अवैध कारोवार र सीमाक्षेत्रबाट हुने मानव तस्करी नियन्त्रण गर्न दुबै पक्षबाट एकआपसमा समन्वयात्मक रुपमा अघि बढ्ने निर्णय गरेका छन्। यस्तै, सीमावर्ती क्षेत्रमा नेपाल र चीन पक्षबीच बर्सेनी २ पटक हुँदै आएको नियमित व्यापार मेला यसपटक हुन नसकेकाले असोज २४ गते व्यापार मेला संञ्चालन गर्ने र भावी दिनमा साविक अनुसार संञ्चालन गर्ने सहमति भयो। अन्नपूर्णपोस्ट अनलाइनका अनुसार व्यापार मेलामा चिनियाँ पक्षले गुणस्तरीय सामानको स्तरबृद्धि गर्न सहमति गरेको छ। दुबै देशका प्रशासन र सुरक्षा अधिकारीहरुले सीमा स्तम्भको संयुक्त रुपमा अनुगमन र संरक्षण गर्न कटिबद्ध रहने बताइएको छ।

नेपालका पशु चौपायाको भ्याक्सिनेशन हुने भएकाले यसबाट उत्पादित लोकल पस्मिनाको चीनतर्फ सहज निकासी गर्न चिनियाँ पक्षले पहल गर्ने जनाएको छ। सीमा कानुन लागु गर्ने र संयुक्त कार्य स्थापनाका लागि नेपाल पक्षलाई पेश भएको ९ बुँदे पत्रको निकासका लागि दुबै देशले माथिल्लो निकायमा पहल गर्ने जनाइएको छ। दुबै पक्षले यसप्रकारको बैठकलाई निरन्तरता दिने र आगामी बैठक जोमसोममा आयोजना गर्ने सहमति गरेका छन्।

चिनियाँ भूमीको ढुङ्वा जिल्लामा भएको नेपाल–चीन वार्तामा मुस्ताङ प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्की , सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल कार्की, अनुसन्धान प्रमुख ओमबहादुर खड्का, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुर्वणकुमार विष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट, दुई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कार्यालयका कर्मचारी उपस्थित थिए।

यस्तै चीनको तिब्बत झुङ्बातर्फका प्रतिनिधिमा सिगात्से सीमा प्रशासन प्रमुख गेरी, झोङ्वा सीमा प्रशासन प्रमुख नीमा, सागा प्रशासन प्रमुख वाइन्वा जिल्ब, सिगात्से सीमा प्रशासन शाखा प्रमुख बाइन्वा छिरिङ र सिगात्से सीमा प्रशासन अन्तर्गत लाराङ प्रहरी चौकीका प्रमुख लु यर्साङ छन्।

जानकारी तथा लेखहरु