फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पर्यटकीय नगरी पोखरा भ्रमण गर्ने चिनियाँको संख्या घट्दो

(GMT+08:00) 2019-10-02 13:43:59

सन् २०१८ मा एक लाख ५४ हजार चिनियाँ पर्यटक नेपाल भित्रिए। सन् २०१९ को अगस्टसम्म आएका चिनियाँको संख्या एक लाख ६ हजार छ। आगमनको अनुपात हेर्दा कुनै अवरोध नभए सन् २०१९ मा पनि पोहोरकै हाराहारी चिनियाँ नेपाल आउने अनुमान व्यवसायीको छ। यसबाट उनीहरु सन्तुष्ट भने छैनन्।

चिनियाँको वृद्धिदर सुस्त रहेको उनीहरुको भनाइ छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१४ मा नेपालमा एक लाख २४ हजार चिनियाँ आएका थिए। यो संख्या भूकम्पका कारण घटेर सन् २०१५ मा ६५ हजारमा सीमित भयो। बोर्डका अनुसार सन् २०१६ र २०१७ मा नेपाल आउने चिनियाँको संख्या एक लाख चार हजारमा उक्लेको थियो।

भूकम्पपछिका हरेक वर्ष चिनियाँ पर्यटक बढेको देखिए पनि यो वृद्धिदर सन्तोषजनक नरहेको उनीहरुको भनाइ छ। बढी नै अपेक्षा गरेको मुलुक चीन र भारतमध्ये चिनियाँको आगमन सोचेअनुरुप बढ्न नसकेको उनीहरु बताउँछन्। नागरिकन्यूज डटकमका अनुसार २०१६ र २०१७ को तुलनामा २०१८ मा केही बढेको देखिए पनि त्यसबाट उत्साही हुन नसकिने उनीहरुले बताए।

माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराई भन्नुहुन्छ, 'ग्राफले वृद्धि देखाए पनि व्यवसायीले चिनियाँबाट सोचेअनुरुप कमाउन सकेका छैनन्।' चिनियाँ पाहुनाले पछिल्लो समय निकै सस्तो प्याकेज खोज्न र मूल्यमा बार्गेनिङ गर्न थालेकोले उनीहरुबाट आम्दानी बढाउन नसकेको भट्टराईको भनाइ छ।

चिनियाँ र भारतीय पर्यटकबाट पोखराले पर्याप्त लाभ लिने सोचे पनि आउजाउ सहज नहुँदा अपेक्षाकृत पर्यटक आउन नसकेको उहाँको ठहर छ। नेपाल भित्रिने मुख्य स्थलमार्ग तातोपानी नाका अहिले पनि पर्यटकका लागि बन्द छ। सबै चिनियाँले हवाई मार्ग प्रयोग नगरेको उहाँको भनाइ छ।

भट्टराईका अनुसार चिनियाँलाई नेपाल आउँदा भाषाको समस्या छ। त्यसैले एक्लाएक्लै आउन हिच्किचाउँछन्। समूहमा मात्र हिँडने चिनियाँलाई पोखरा तान्ने बलियो योजना नबनेको हो। चिनियाँ नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। उहाँले भन्नुभयो, 'भाषा, खानपिन, पहुँच, प्रचारप्रसारको अभाव, नयाँ र आकर्षक प्याकेजको कमीले पनि चिनियाँ नेपाल आउन सकेनन्।'

पोखरामा अहिले चिनियाँलाई मात्र सेवा दिने होटल र रेस्टुरेन्ट गरी १७ वटा छन्। ती पनि चिनियाँ पर्यटकको आगमन घट्दा व्यवसाय धान्न गाह्रो परेको बताउँछन्। पोखरामा व्यवसाय गरिरहेका चिनियाँ ली हा राङ भन्छन्, 'वास्तवमा भन्ने हो भने पोखरामा अहिले चिनियाँको व्यापार धान्नै मुस्किल छ। हामीले बाध्य भएर यहाँ व्यवसाय चलाएका छौं।'

चिनियाँ व्यवसायीको संस्था ओभरसिज चाइनिज एसोसिएसनका अध्यक्ष जाङ जिआङ सङ भन्छन्, 'हामी संस्थागत रुपमा नेतृत्व गरेकोले मात्र बस्न बाध्य छौं। नत्र व्यवसाय धान्न सक्ने अवस्था छैन। चिनियाँ पाहुना आउनै सकेनन्।'

नेपाल र चीनबीचको हवाई सञ्जाल राम्रो भए पनि स्थलमार्ग खुला नभएसम्म चिनियाँ भित्र्याउन चुनौती रहेको व्यवसायीहरू बताउँछन्।

जानकारी तथा लेखहरु