फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा चीन र नेपालका धावकबीच अन्तर्राष्ट्रिय दौड हुने

(GMT+08:00) 2019-10-04 13:47:33

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणकै बेला पोखरामा चीन र नेपालका धावकबीच अन्तर्राष्ट्रिय दौड हुने भएको छ। असोज २९ मा पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड हुने भएको हो। पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको खुन्मिङ पर्वतारोहण तथा अन्वेषण संघको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ ।

क्रसकन्ट्री दौडमा चीनका करिब ४० व्यावसायिक धावक, चिनियाँ सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जनाको टोली पोखरा आउने छ । प्रतियोगिता संयोजक विश्वशंकर पालिखे दौडको चिनियाँ सञ्चारमाध्यममा प्रचारप्रसार गरी पोखराको साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताउनुहुन्छ।

पोखरा महानगरसँग भगिनी सम्बन्ध रहेको खुनमिङ सहरबाट आउने टोलीको खर्च उनीहरूले नै बेहोर्छन् । उनीहरूको बसाइ र प्रतियोगिताको खर्च स्थानीय आयोजकले बेहोर्ने छ । दौडलाई 'ब्रान्डिङ' गर्न प्रतियोगिताको नाम 'रन फर लभ' राखिएको संयोजक पालिखेले बताउनुभयो।

कान्तिपुर अनलाइनका अनुसार प्रतियोगितामा सहभागीले ३ विधामा भाग लिने छन् । दौड, साइक्लिङ र बोटिङ हुनेछ । २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ । ४२.२ किलोमिटरको दौडमा धावक मट्टिखान र पुम्दीभुम्दीको १ हजार ३ सय मिटरको उचाइसम्म पुग्नेछन् । तीन खेलाडीको एक टिम बन्नेछ ।

टिममा एक महिला खेलाडी अनिवार्य गरिएको छ । नेपालका ३ विभागीय टिमका खेलाडी, स्थानीय टिम र चीनका धावक गरी ३० टिमले प्रतियोगितामा सहभागिता जनाउने छन ।

पोखराको बाराहीघाटबाट सुरु हुने दौड, राष्ट्रबैंक चोक, ड्यासाइड, डेभिजफल, तिब्बती क्याम्प, फुस्रेखोला, कमेरा, राम्दी, मट्टिखान, स्याङजाको रामकोट, कुभिन्डे, उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ, ढुंगेपानी, शान्तिस्तुपा, लिची बोट हुँदै बोटिङ गरेर बाराहीघाटसम्मको रुट तय गरिएको छ । यो रुट सम्पन्न गर्न करिब ५ घण्टा लाग्नसक्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समितिका प्रकाश बरालले बताउनुभयो।

बाराहीघाटबाट फुस्रेखोलासम्म खेलाडी दौडिने छन् । फुर्स्रेखोलामा राखिने साइकल लिएर उनीहरू निर्मलपोखरीतिर उकालो लाग्छन् । शान्तिस्तुपबाट फेवाताल झरेपछि बोटिङ गरेर पुन: बाराहीघाट पुग्नेछन् । विजेता बन्न टिमका ३ खेलाडी सँगसँगै आउनुपर्छ । प्रतियोगितामा नेपालीतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमका खेलाडीलाई चीनको कुन्मिङ सहरमा नोभेम्बरमा हुने विश्व प्रसिद्ध 'जिआओजी' पर्वतीय दौडमा पठाइने भएको छ ।

जानकारी तथा लेखहरु