फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमण वर्षका लागि नेपाली सेनाले साहसिक पर्यटकीय गतिविधि चलाउने

(GMT+08:00) 2019-10-04 13:48:21

नेपाली सेनाले नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा विभिन्न कार्यक्रम गरी मुलुकको पर्यटन प्रवद्र्धनका लागि साहसिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन विदेशी पर्यटकको सहभागिता हुने गरी प्रतियोगितात्मक साहसिक खेलकूदका कार्यक्रमका साथै पर्यटकीय गतिविधि सञ्चालन गर्न लागेको नेपाली सेनाले जनाएको छ । भ्रमण वर्षका अवसरमा साहसिक खेल, म्याराथन दौड, जङ्गल सफारी, हिमाली पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगायत नौ वटा कार्यक्रम आयोजना गर्न लागिएको सेनाले आज काठमाडौँमा एक कार्यक्रममार्फत जानकारी दिएको छ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकले लिएको लक्ष्य भेट्नका लागि नेपाली सेनाले अगाडि सारेको जस्तो कार्यक्रम जरुरी रहेको औँल्याउँदै विदेशमा पनि प्रचारात्मक कार्यक्रम आवश्यक भएको औँल्याउनुभयो। उहाँले उच्च पहाडी क्षेत्रमा सफारी, घना जङ्गल क्षेत्रमा मौसमअनुसारका पर्यटकीय गतिविधि सञ्चालन गर्नसके विविधतायुक्त नेपालमा पर्यटन विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारी लक्ष्यप्राप्तिका लागि सेनाकोतर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै भ्रमण वर्ष सफल बनाउन विभिन्न कार्यक्रम गर्नेगरी प्रचारात्मक अभियान थालिएको जानकारी दिनुभयो । नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आयोजना गर्ने विभिन्न नौ वटा कार्यक्रम रहेको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु