'आर्थिक विकासको मूल आधार, उद्योग, पर्यटन, कृषि र व्यापार' भन्ने मुल नाराका साथ विराट एक्स्पो–२०७६ विराटनगरमा आयोजना हुने भएको छ। कृषि तथा औद्योगिक प्रदर्शनीलाई प्राथमिकता दिएको एक्स्पोको विषयमा उद्योग संगठन मोरङले विराटनगरमा मंगलबार जानकारी दिँदै कार्यक्रम माघ २७ देखि फाल्गुन ४ गतेसम्म एकसाता हुने जनाएको छ।
उद्योग संगठनका अध्यक्ष भीम घिमिरेका अनुसार यस एक्स्पोले औद्योगिक उत्पादन र प्रविधी प्रवर्द्धन, कृषिको गुणस्तरीय र व्यावसायिक उत्पादनमा जोड दिने छ। उत्पादकहरुबीच स्वस्थ्य प्रतिस्पर्धा हुने बताएका अध्यक्ष घिमिरेले एक्स्पोमा ३ सय १५ वटा स्टलमा सूचना प्रविधी, जडिबुटी, कृषि औजार, विद्युतिय सामग्री, गार्मेन्ट, खाद्य, स्वास्थ्य, शिक्षा तथा बैकिङ सेवाबारे प्रर्दशनी हुने बताउनुभयो।
एक्सपोबाट उपभोक्ता र उत्पादकबीच सम्बन्ध विस्तार हुने अपेक्षा आयोजकले लिएको छ। एक्स्पोमा राष्ट्रिय उद्योगी तथा व्यवसायीसँगै उपभोक्ताहरुले भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्सका सरसमान समेत खरिद गर्न पाउनेछन्। देशसंचार अनलाइनका अनुसार एक्स्पोमा मोरङसँगै सुनसरी, झापा, सिरहा, उदयपुरका व्यवसायी, भारतको विहार, पश्चिम बंगालबाट गरी करिब ३ लाख उपभोक्ताले अवलोकन गर्ने अपेक्षा लिएको एक्स्पो संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो।