फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रमुख चाडपर्व नजिकिँदा चीन र भारतबाट मालसामान आयात बढ्दो

(GMT+08:00) 2019-10-06 13:38:46

दशैँ, तिहार, छठजस्ता चाडपर्वमा भैरहवा भन्सारबाट मालसामानको आयात बढेको छ। व्यवसायीले दशैँलाई लक्षित गरेर भारत, चीन तथा तेस्रो मुलुकबाट मालसामान आयात बढाएका हुन्। अन्य सिजनमा धेरै मात्रामा औद्योगिक कच्चा पदार्थ भित्रिने भैरहवा भन्सार कार्यालय बेलहियामा अहिले खाद्यान्न, फलफूल, लत्ताकपडा, मरमसला तथा सवारीसाधन बोकेका सवारीसाधनको आवागमन बढेको भन्सारका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिनुभयो। यो नाकाबाट दशैँ, तिहारका लागि एक अर्ब रुपियाँभन्दा बढीको लत्ताकपडा आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ।

सूचना अधिकृत पौडेलका अनुसार चाडपर्वका लागि साउन, भदौ र असोजमा लत्ताकपडाको आयात बढी मात्रामा हुने गरेको छ। भैरहवाबाट गत साउनमा ३० करोड ७४ लाख रुपियाँको सुर्ती तथा तयारी कपडा आयात भएको थियो । भदौमा ३५ करोड र असोजमा ४० करोड रुपियाँ बराबरको लत्ताकपडा आयात भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो।

विशेष गरी तयारी सामान, सटिङ–सुर्टिङ तथा सारी, कुर्ता सुरुवाल र सुती कपडा यहाँबाट भित्रिने गर्दछन्। भारतको बैंगलोर, लखनउ, मेरठ, गुजरात, मद्रास, बनारस, गोरखपुरजस्ता स्थानबाट नेपालमा लत्ताकपडा आयात हुने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनुभयो। पछिल्लो समय सस्तो र फरक–फरक डिजाइनमा आउने भएकाले चिनियाँ कपडाको खपत र आयात दुवै बढेको पनि अध्यक्ष न्यौपानेको भनाइ छ। यसबाहेक तेस्रो मुलुक हङ्कङ, दक्षिण कोरिया, थाइल्यान्ड, अमेरिकाबाट समेत दशैँलाई लक्षित गरेर तयारी कपडा नेपाल भित्रिने गरेको गोरखापत्र अनलाइनले जनाएको छ।

अधिकांश विदेशी ब्रान्डका कपडा काठमाडौँ, पोखरा, नारायणगढ, बुटवल, भैरहवा, तानसेनजस्ता सहरमा खपत भए पनि भारतीय तथा चिनियाँ कपडा आधाभन्दा धेरै पहाडी जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, स्याङ्जा र दाङसम्म पुग्ने गरेको व्यवसायीहरू बताउँछन्।

चाडपर्व लक्षित गरेर व्यापारीहरूले गत साउनदेखि नै सवारीसाधनको आयात बढाएका छन्। भैरहवा नाकाबाट वार्षिक साढे २३ अर्ब रुपियाँ बराबरको सवारी साधन आयात हुन्छ। आयातको झन्डै ४० प्रतिशत कारोबार दशैँ, तिहारको समयमा हुने अटो व्यवसायी तथा जगत मोटर्स प्रालिका प्रबन्ध निर्देशक रिश्चल थापाले जानकारी दिनुभयो। दशैँ, तिहार लक्षित बजारका लागि भैरहवा नाकाबाट करिब पाँच अर्ब रुपियाँभन्दा बढीका जिप, कार, भ्यान र मोटरसाइकल आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ।

दशैँकै लागि भैरहवा नाकाबाट फलफूल भित्रिने क्रम पनि ह्वात्तै बढेको छ। स्याउ, केरा, भुइँ कटहर, अनारलगायतका फलफूल यस नाकाबाट बढी मात्रामा भित्रिने गर्दछ। साउन, भदौमा दैनिक ५० देखि ७५ गाडी फलफूल भित्रिने यो नाकाबाट असोज लागेसँगै दैनिक एक सयभन्दा बढी फलफूल बोकेका गाडी नेपाल भित्रिइ रहेको भन्सार कार्यालयले जनाएको छ।

यो नाकाबाट भित्रिने फलफूल बुटवलको थोक बजार केन्द्र हुँदै पहाडी जिल्लासहित चितवन, पोखरा र काठमाडौँसम्म पुग्ने गर्दछ। चाडपर्वकै लागि अहिले खाद्यान्नको आयात पनि तुलनात्मक रूपमा बढेको छ। दशैँमा लत्ताकपडासँगै मसिनो तथा बासनादार चामल, दाल, तेल, मैदा, घर सजावटका सामानको माग पहाडी जिल्लामा बढी हुने गरेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिव नेत्रप्रसाद आर्चायले बताउनुभयो।

जानकारी तथा लेखहरु