हिमालय एयरलाइन्सले २ जहाज थप गरी चीनका विभिन्न आधा दर्जन सहरमा उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले उच्च हिमाली क्षेत्र हुँदै उडान भर्नका लागि एयरबसका ए-३१९ सिरिजका २ जहाज थप गरी चीनमा उडान विस्तार गर्ने जानकारी दिएको सेतोपाटीले लेखेको छ।
सन् २०१४ मा चीनको तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानीमा स्थापना भएको एयरलाइन्सले यही कात्तिकदेखि बेइजिङ उडान सुरु गर्ने तयारी गरेको छ। बेइजिङसँगै छाङसा, नाङचाङ, कुइयाङ, छोङछिङ, आलि र सन्चङमा विस्तार गर्ने योजना रहेको एयरलाइन्सले जानकारी दिएको छ।
यसै बीच हिमालयमा चिनियाँ लगानीकर्ता भने फेरिएको छ। फेरिएसँगै लोगो पनि परिवर्तन गरेको एयरलाइन्समा तिब्बत एभिएसन इन्भेष्टमेन्ट नयाँ लगानीकर्ताका रुपमा भित्रिने भएको हो। एयरलाइन्ससँग हाल ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी जहाज भएको एयरलाइन्सले थप २ जहाज ल्याउने तयारी गरेको छ।
हाल एयरलाइन्सले युएईको आबुधावी र बंगलादेशको ढाका,साउदी अरबको दमाम, कतारको दोहामा उडान गरिरहेको छ। कात्तिक पहिलो हप्तादेखि मलेसियाको क्वालालम्पुरमा पुन: उडान सुरु गर्ने एयरलाइन्सले तयारी गरेको छ।