फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा स्नातकोत्तरमा सुरुङ इन्जिनियरिङको अध्ययन सुरु

(GMT+08:00) 2019-10-23 14:40:20
नेपालमा सुरुङमार्गको बढ्दो आवश्यकतासँगै स्नातकोत्तर तहमा यो विषय पढाइने भएको छ। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक र पोखराको पश्चिमाञ्चल क्याम्पसले सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी थालेको कान्तिपुर अनलाइनले लेखेको छ।

पुल्चोक र पश्चिमाञ्चल क्याम्पसले स्नातकोत्तर तहमा छुट्टै कार्यक्रम (विषय) का रूपमा सुरुङ विधाको सम्भावना, पाठ्यक्रम, विज्ञको खोजीका लागि अध्ययन समिति बनाएका छन्। दुवै क्याम्पस आउँदो शैक्षिक सत्रदेखि नै कक्षा सुरु गर्ने तयारीमा जुटेका छन्। गण्डकी प्रदेश सरकारले सुरुङ इन्जिनियरिङको पाठ्यक्रम बनाउन लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसलाई १० लाख रुपैयाँ बजेट छुट्याएको छ। सुरुङमार्ग बनाउने दक्ष जनशक्ति देशमै उत्पादन हुन नसकेपछि त्यसको तयारी गर्न रकम विनियोजन गरिएको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले बताउनुभयो। 'प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुरुङ इन्जिनियरिङको प्रवर्द्धनलाई जोड दिँदै त्यसको पाठ्यक्रम बनाउन १० लाख रुपैयाँ छुट्याएका छौं,' उपाध्यक्ष पौडेलले भन्नुभयो, 'प्रदेश सरकारले गत वर्षदेखि नै यसको आवश्यकता औंल्याउँदै क्याम्पससँग कुरा गरेको थियो, अहिले उहाँहरू पाठ्यक्रम बनाउँदै हुनुहुन्छ।'

पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले स्नातकोत्तर तहमा सुरुङ इन्जिनियरिङ अध्ययनका लागि सहायक क्याम्पस प्रमुख (प्रशासन) निर्मलप्रसाद बरालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर मस्यौदा तयार गरिसकेको बताउनुभयो। 'अब कात्तिक १५ र १६ मा पाठ्यक्रम कस्तो बनाउने भनेर विज्ञहरू बोलाएर कार्यशाला गर्दै छौं,' उहाँले भन्नुभयो। पाठ्यक्रम बनाउने कार्यशालामा त्रिभुवन, काठमाडौं, पोखरा विश्वविद्यालय र नर्वेजियन युनिभर्सिटी फर साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू), सडक, विद्युत् निकायबाट गरी २२ विज्ञ आउने पौडेलले बताउनुभयो। क्याम्पसले तयार गरेको पाठ्यक्रमलाई डीन कार्यालयअन्तर्गतको विषय समिति, फ्याकल्टीबोर्ड र त्रिविको प्राज्ञिक परिषद्ले स्वीकृति दिनुपर्छ।

पुल्चोक क्याम्पसले 'रक एन्ड टनेल इन्जिनियरिङ' पढाउनेबारे सम्भाव्यता अध्ययनका लागि असोज २ गते सिभिल इन्जिनियरिङ विभागका प्रमुख भरत मण्डलको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ। समितिका सदस्यमा प्रा. अकलबहादुर सिंह, प्रा. प्रेमनाथ मास्के, कमलबहादुर थापा, इन्द्रप्रसाद आचार्य र सदस्य सचिवमा संगीता मल्ल श्रेष्ठ हुनुहुन्छ।

अध्ययन समिति संयोजक मण्डलका अनुसार सिभिल इन्जिनियरिङमा स्नातक गरेका विद्यार्थीले 'रक एन्ड टनेल इन्जिनियरिङ' मा स्नातकोत्तर गर्न पाउने गरी तयारी थालिएको हो। 'सडक विभाग, सडक बोर्ड, सिँचाइ विभाग, भवन विभाग, विद्युत् प्राधिकरणलगायत निजी क्षेत्रका निकायले पनि सुरुङ इन्जिनियर पाइएन भन्दै आउँछन् तर हामीले दिन सकेका छैनौं,' मण्डलले भन्नुभयो, 'अब यसको पढाइ सुरु गरियो भने देशभित्रैबाट त्यो आवश्यकता पूरा गर्न सकिएला।'

पुल्चोक र पश्चिमाञ्चल क्याम्पसलाई बेलायतको वारविक विश्वविद्यालय र नर्वेको एनटीएनयूले पाठ्यक्रम बनाउन सहयोग गर्ने वचन दिएका छन्। हाल स्वदेश आएका एनटीएनयू नर्वेका प्राध्यापक कृष्णकान्त पन्थीले नेपालजस्तो भौगोलिक अवस्थिति भएको मुलुकका लागि 'रक एन्ड टनेल इन्जिनियरिङ' आवश्यक भएको औंल्याउँदै पाठ्यक्रम बनाउन आफूले पनि सहयोग गर्ने बताउनुभयो। 'हाम्रो देशको भौगोलिक अवस्थाअनुसार सिक्नका लागि पनि नेपालमै सुरुङ विद्याको प्राज्ञिक अध्ययन हुनुपर्छ,' उहाँले भन्नुभयो, 'त्यसका लागि हामीले सिकेको ज्ञान, सीप पनि आदान–प्रदान गर्न चाहेका छौँ।'

'नेपाल टनेलिङ एसोसियसन' का अध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठले सुरुङ मार्गसम्बन्धी काम गर्ने विभिन्न इन्जिनियरिङ समूहका एक सय इन्जिनियर एसोसिएनमा आबद्ध भएको बताउँदै सुरुङ इन्जिनियरिङमा स्नातकोत्तर र विद्यावारिधि गरेका १२–१५ जनाजति रहेको औंल्याउनुभयो।

जानकारी तथा लेखहरु