फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनका दरले चिनियाँ स्याउ नेपालमा

(GMT+08:00) 2019-10-27 13:50:57
फलफूल उच्च खपत हुने पर्व तिहारलाई लक्ष्य गरेर उत्तरको मुख्य तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनका दरले चिनियाँ स्याउ नेपाल आयात भइरहेको छ। दसैं बिदा सकिएर नाका खुलेसँगै चिनियाँ स्याउको आयात ह्वात्तै बढेको हो। भारतीय र नेपालीको तुलनामा चिनियाँ स्याउ अधिक सस्तो भएकाले माग उच्च हुँदा आयात बढेको नेपाली व्यवसायी बताउँछन्। उनीहरुका अनुसार भारतीय र नेपालीभन्दा चिनियाँ स्याउ आधा (५० प्रतिशत) सस्तो हुने नागरिकन्यूज डटकमले लेखेको छ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत केशवराज ओलीका अनुसार दसैं बिदापछि यो नाका भएर चिनियाँ स्याउको आयात ह्वात्तै बढेको छ। उहाँका अनुसार दैनिक औसतमा ३० कन्टेनर स्याउ राजधानी काठमाडौं भित्रिरहेको छ। दसैं बिदा सकिएपछि असोज २३ गतेबाट नाका खुलेको थियो। 'कहिले त स्याउ आयात ३५ कन्टेनर नाघ्छ,' भन्सार अधिकृत ओलीले भन्नुभयो।

२० प्रतिशत फुजी र ८० प्रतिशित चिनियाँ स्थानीय जातका स्याउ आयात भइरहेको छ। भूकम्प गएको चार वर्षसम्म बन्द रहेको यो नाका गएको जेठ १५ गतेबाट पुनः सञ्चालनमा आएको थियो। आयात व्यापारमा क्रमिक सुधार आउँदै गर्दा दसैंअघिसम्म औसतमा ८–१० कन्टेनर चिनियाँ सामग्रीको आयात हुन्थ्यो। त्यसको आधा हिस्सा स्याउले ओगटेको थियो।

अहिले आयातको ९५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै दैनिक ३५ कन्टेनरसम्म स्याउ आयात हुने गरेको भन्सारको तथ्यांक छ। एउटा कन्टेनरले १० टन स्याउ बोक्छ। ह्वात्तै बढेको स्याउ आयातले नाका व्यापार पुरानै लयमा फर्कने संकेत देखिएको व्यवसायी बताउँछन्। भूकम्पअघि नाकाबाट दैनिक ६० कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुन्थ्यो।

चाडबाड लक्षित सामग्री भएकाले दैनिक आउने सबै स्याउ भन्सार प्रक्रिया पूरा गरेर राजधानी पठाउने गरिएको छ। भन्सारले फुजी जातको स्याउको प्रतिकेजी मूल्यांकन अमेरिकी ७० सेन्ट (८० रुपैयाँ) र सामान्य जातका स्याउको ५० सेन्ट (५७) रुपैयाँ निर्धारण गरेको छ। मूल्यांकनको १० प्रतिशत अग्रिम आयकर र कृषि सेवा शुल्क भन्सारले लिने गरेको छ।

व्यापारीले प्रतिकन्टेनर स्याउ राजधानी पुर्याएको ६० हजार रुपैयाँ भाडा तिर्छन्। चिनियाँ व्यापारीलाई तिरेको शुल्क, कृषि सेवा शुल्क, ढुवानी भाडामा नाफा राखेर राजधानीमा सामान्य जातका स्याउ प्रतिकेजी ९५ रुपैयाँमै झार्ने गरेको आयातकर्ता दीपक श्रेष्ठ बताउनुहुन्छ। उहाँका अनुसार यो मूल्यमा झर्ने स्याउ उपभोक्ताले एक सय २० देखि डेढ सय रुपैयाँ मूल्यमा खरिद गरिरहेका छन्।

चिनियाँ मुद्रा युआन (घोर्मु) को सटही दर बढ्दा यो वर्ष चिनियाँ स्याउ अझै महँगिएको आयातकर्ता श्रेष्ठले जानकारी दिनुभयो। युआनको सटही दर यतिबेला १६ रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष यही सयमा यो सटही दर १५ रुपैयाँको हाराहारीमा थियो।

जानकारी तथा लेखहरु