फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अबको १४ महिनामा काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह

(GMT+08:00) 2019-10-27 13:52:05
आयात र निर्यात हुने वस्तुलाई एकीकृत सेवा दिनका लागि काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) अब १४ महिनामा तयार भई सञ्चालनमा आउने भएको छ ।

मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको सो बन्दरगाह निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकता दिएपछि आगामी वर्ष तयार हुने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले सो बन्दरगाह सन् २०२० भित्र निर्माण भई सञ्चालनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो, "सन् २०२० भित्र काठमाडौँमा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको हुनेछ ।"

उहाँका अनुसार अहिले बन्दरगाहको निर्माण कार्य धमाधम भइरहेको छ । कुल एक अर्ब ६६ करोड रुपियाँ लागतमा निर्माण भइरहेको सो बन्दरगाहको अहिलेसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको छ । विश्व बैङ्कको ऋण सहयोगमा यो बन्दरगाह निर्माण भइरहेको हो ।

सन् २०१० देखि नै यो सुक्खा बन्दरगाह बनाउने सरकारी प्रयास सुरु भए पनि लामो समय सफल हुन सकेको थिएन । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्न लागेको हो । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने भावी योजना सरकारको रहेको गोरखापत्र अनलाइनले जनाएको छ ।

मुलुकको व्यापार प्र्रवद्र्धनका लागि अहिले आवश्यक व्यवस्थापनको समस्या रहेकाले सोको समाधानका लागि चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण कार्यलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।

निजी क्षेत्रका समेत गुनासालाई सम्बोधन गर्दै उहाँहरूकै हितमा हुने गरी निर्माण प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

ढकालका अनुसार अहिले बन्दरगाहको भुइँतला निर्माण, प्रशासनिक भवन निर्माण, बन्दरगाहको क्षेत्रफलमा बार लगाउनेजस्ता काम सुरु भइसकेको छ । स्थानीय आमनागरिकको सहयोग र समर्थनमा नै बन्दरगाहको निर्माण कार्यलाई तीव्रता दिइएको उहाँले स्पष्ट पार्नुभयो । अब स्थानीय नागरिकबाट कुनै किसिमको अवरोध वा गुनासो नरहेको उहाँले बताउनुभयो ।

काठमाडौँ सुक्खा बन्दरगाह निर्माण आयोजनाका प्रमुख युवक डङ्गोलले सुक्खा बन्दरगाह निर्माणको मुख्य काम नै 'बेस' र भवन निर्माण रहेको बताउँदै अहिले 'बेस' र भवनको जग निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सामान भण्डारण गरिने भवनहरू, बन्दरगाहको प्रशासनिक भवन र भन्सार भवनको जग हाल्ने काम सम्पन्न 'व्याक फिलिङ'को काम भइरहेको छ ।

बन्दरगाह निर्माण कार्य 'इन्टरनेसनल कन्ट्र्याक्ट विडिङ (आईसीबी)' र 'नेसनल कन्ट्र्याक्ट विडिङ (एनसीबी)'बाट भइरहेको छ । 'आईसीबी'अन्तर्गत चिनियाँ निर्माण कम्पनी चाङची आरसी (जेभी)ले र 'एनसीबी'अन्तर्गत लुम्बिनी न्यौपाने विल्डर्स (जेभी)ले निर्माणको जिम्मा पाएका छन् । सुक्खा बन्दरगाह सञ्चालनले भन्सार प्रक्रियामा सहजीकरण गर्नुका साथै 'क्वारेन्टाइन' जाँचका लागि समेत एकै ठाउँबाट सेवा उपलब्ध हुने गर्दछ । व्यापारको लागत कम गर्नुका साथै व्यापार प्रक्रियालाई समेत सहजीकरण गर्ने गर्दछ । 'क्वारेन्टाइन'लगायत जाँचका प्रक्रियाका लागिसमेत एकै ठाउँमा सबै सेवा उपलब्ध हुने गर्दछन् ।

जानकारी तथा लेखहरु