चीनको 'विशेष अनुमति' पछि मंगलबार बिहान सिसापाङ्माको शिखरमा पाइला राखेपछि नेपाली पर्वतारोही निर्मल पुर्जाका नाममा ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको आरोहण सात महिनामै पूराको कीर्तिमानी बनेको छ। यसबाट आठ वर्ष लगाएर पोलिस आरोहीले सन् १९८७ मा बनाएको कीर्तिमानी सात महिनामै छोट्याइएको छ।
३६ वर्षीय पुर्जाले सिसापाङ्माको शिखरबाट 'मिसन एचिभ्ड' भन्दै सामाजिक सञ्जालहरुमा पोष्ट गरेको कान्तिपुर अनलाइनले लेखेको छ। उनले ८ हजार अग्ला सबै हिमाल १९० दिनमै आरोहण गर्दै कीर्तिमान बनाएका हुन्। यसअघि पोल्यान्डका जर्जी कुकुच्जाले ७ वर्ष ११ महिना १४ दिन लगाएर सन् १९८७ मा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गरेका थिए। पुर्जाले आफ्नो टिमका मिङ्मा डेविड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङले पनि सिसापाङ्माको आरोहण गरेको उल्लेख गरेका छन्। सुरुमै आरोहणको स्वीकृति नपाएकाले उनले आठ हजार मिटरका सबभन्दा होचो हिमालको ठूलै चुनौती बेहोर्नुपर्यो।
उनले २३ अप्रिलमा अन्नपूर्णको आरोहरणसगै कीर्तिमान कायम गर्ने अभियान 'प्रोजेक्ट पोसिबल' थालेका थिए। चौथो हिमालको रुपमा २२ मे मै विश्वकै सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेका उनले ११ हिमाल ९० दिनभित्रै चढेका थिए। उनले ल्होत्से, मकालु र सगरमाथा ४८ घन्टाभित्रै आरोहण गर्दै रेकर्ड बनाए। उनले यो अभियानको १३ औं हिमालको रुपमा २७ सेप्टेम्बरमा मनास्लुको चुचुरोमा पाइला राखेका थिए।
'निम्स दाइ'को नामले चर्चित् पुर्जाको अभियानको अन्तिम शिखरको रुपमा गन्तव्य बन्यो सिासापाङ्मा। चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित सिासापाङ्मा आरोहणलाई यो सिजनको लागि चीनले रोक लगाएको थियो। त्यसैले पुर्जाले आरोहण स्वीकिृतिको लागि निक्कै हारगुहार गर्नुपर्यो। र, नेपाल सरकारको पहलमा चीनले १५ अक्टोबरमा आएर स्पेसल परमिट दिएपछि पुर्जा प्रोजेक्ट पोसिबलको अन्तिम गन्तव्यतिर लागेका थिए।
सगरमाथा आरोहणसँगै उनले डेथ जोनबाट केही आरोहीलाई उद्दार पनि गरेका थिए। त्यसले उनको अभियानले विश्वव्यापी चर्चा पाएको थियो। म्याग्दीका उनी सन् २००३ मा बेलायती सेनाको गोर्खा पल्टनमा भर्ती भएका थिए।
त्यसपछि २००९ मा रोयल मरिनमा आबद्ध भएका उनले गोर्खा भर्तीको २०० वर्र्ष पुगेको अवसरमा सन् २०१७ मा १३ सैनिक आबद्ध 'गोर्खा एक्सिपिडिसन'को नेतृत्व गरेका थिए। टिमको सफल आरोहणस"गै उनले बेलायतको प्रतिष्ठित् अवार्ड एमबीई र नागरिक सम्मान पाएका थिए। उनले पर्वतारोहणमा केन्द्रित हुने भन्दै गत वर्ष बेलायती सेना छाडेका थिए।