फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१५ दिन लामो 'सोलुखुम्बु ट्रेल रेस' पूर्वी नेपालमा शुरू

(GMT+08:00) 2019-10-30 14:51:18
सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रमा पनि पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष सन् २०२० लक्षित 'सोलुखुम्बु ट्रेल रेस' ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट मंगलबार सुरु भएको छ। रेसको औपचारिक उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले गर्नुभयो। आयोजक संस्था 'द स्मल वल्र्ड'का अध्यक्ष कर्मा शेर्पाका अनुसार सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधार शिविर पुगेर पुनःतल्लो क्षेत्रको फाप्लुमा आएर रेस समापन हुनेछ।

धावकहरु ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउँ जुनबेंसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्डपोखरी हुँदै दौडने छन्।

प्रथम सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउदै धावकहरु दौडिने आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो। रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन्।

रेसमा सहभागी अधिकांश धावकहरु फ्रान्सबाट आएका छन्। रेसमा बेल्जियम, स्वीजरल्यान्ड लगायतका यूरोपेली देशका धावक पनि सहभागी छन्। रेसमा चर्चित विन्टर एथलेक्टिस दावा दाछिरी शेर्पा सहभागि भएका छन्। शेर्पाले विन्टर ओलम्पिकमा नेपालको नेतृत्व गरिसकेका छन्। ५ औं पटकसम्म अन्तरराष्ट्रियस्तरको दौडमा बिजेता बनेका दाछिरी सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका वासिन्दा हुन्।

३ सय १० किलोमिटर दूरीको दौड पुरा गर्न १५ दिन लाग्नेछ। रेसमा ५ हजार ४ सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिबिर पुग्नुपर्नेछ। फर्किने क्रममा धावकहरु गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुग्ने अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु