फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा विदेशी लगानी प्रतिवद्धता दुई गुणा बृद्धि

(GMT+08:00) 2019-11-08 16:09:26

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दुई गुणाभन्दा धेरैले बढेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा ११ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३५ गुणाले बढी हो। अघिल्लो वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको कारोबार अनलाइनले लेखेको छ।

सरकारले गत चैत महिनामा नेपाल लगानी सम्मेलन आयोजना गरेपछि वैदेशिक लगानीकर्ताको रुचि बढेको हो। चालू वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानीका लागि प्रतिवद्धता आएको छ। एकातर्फ सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनसँगै निजी क्षेत्रको आयोजनामा भएको पूर्वाधार सम्मेलन तथा सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने योजनाले पर्यटन क्षेत्रमा लगानी प्रतिवद्धता बढेको छ। यसअघि औद्योगिक व्यवसाय ऐन, खानी ऐन, पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, सेज ऐन तथा नियमावलीजस्ता नीतिगत व्यवस्थाले पनि लगानी लागि प्रोत्साहन गरेको छ। यसले नेपालमा लगानीका लागि वातावरण बन्दै गएको र विदेशीहरु पनि लगानीका लागि आकर्षित हुँदै गएको देखिएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो। चीनको सानो सानो लगानीमात्रै आकर्षित भयो तर मेगा परियोजनाको लगानी आउन भने सकेको छैन। "नेपालको बजेट भन्दा धेरै लगानी चीनले कतिपय देशको एउटै परियोजना लगानी गरेको छ, तर नेपालमा त्यो खालको ठूलो लगानी आउन सकेको छैन, अब चीनको ठूलो लगानी आउनुपर्छ किनकी सानोसानो लगानी त स्वदेशी उद्योगीले पनि गर्न सक्छन्," श्रेष्ठ भन्नुहुन्छ।

चालू वर्षको तीन महिनामा ३९ वटा पर्यटन उद्योग दर्ता भएकोमा ९ वटा होटल तथा रेष्टुरेन्टमार्फत ५ अर्ब ७७ करोड वैदेशिक लगानी प्रतिवद्धता आएको हो। सिमेन्ट उद्योग, होटल, रेष्टुरेन्ट, उर्जा, पर्यटन, साना तथा मझौला उद्योग लगायतमा चीनको लागानी छ।

विदेशी लगानीतर्फ चालू वर्षमा ७७ उद्योगले स्वीकृति पाएका छन्। यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन क्षेत्र हो भने सेवातर्फ २५, उत्पादनका ७, सूचना प्रविधिसम्बन्धी ५ र कृषि, वन पैदावारका एउटा उद्योगका लागि प्रतिवद्धता आएको छ।

विभागको तथ्यांकअनुसार सबै उद्योगका लागि ११ अर्ब ३६ करोड रुपैयाँको प्रतिबद्धता आएको छ। यसबाट ४ हजार २ सय ९२ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। गत वर्षको सोही अवधिमा चार अर्ब ८३ करोड ५२ लाख रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो। विभागका सूचना अधिकारी विनोद खड्काले चालू आवमा आएको लगानीको प्रतिवद्धताले देशमा लगानीको वातावरण बन्दै गएको संकेत गरेको बताउनुभयो। उहाँले अघिल्लो वर्ष भन्दा यस वर्षको पहिलो तीन महिनाको सुरुवात राम्रो भएको बताउनुभयो।

एकातर्फ लगानीको प्रतिवद्धताको रकम बढेको तथ्यांक सरकारी निकायले सार्वजनिक गरेपनि विगतका वर्षमा कति लगानी आयो कति लगानी पाइपलाइन छ र कति प्रतिवद्धतामै सीमित भए भन्ने विषयमा भने कुनै अध्ययन भएको छैन। प्रत्यक्ष वैदेशिक लगानीमात्रै नभएर स्वदेशी लगानीकर्ताले पनि उद्योग दर्ता गरी लाइसेन्स होल्ड गर्ने प्रवृत्ति बढेको छ। विदेशी तथा स्वदेशी लगानीको प्रतिबद्धता बर्सेनि बढेपनि सोहीबमोजिम लगानी भने भित्रन सकेको छैन। विदेशी लगानीमा उद्योग विभागमा दर्ता भएका उद्योग कति सञ्चालनमा छन् र तिनमा वास्तविक लगानी कति थपियो वा थपिएन एकीकृत तथ्यांक सरकारी निकायसँग छैन।

जानकारी तथा लेखहरु