नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अनलाइन कारोबार प्रणाली सुरु गरेको एक वर्ष अवधिमा कुल १ खर्ब ६ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ। तर, यो अवधिमा अनलाइनमार्फत भने १६ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको नेप्सेले जनाएको कारोबार अनलाइनले लेखेको छ।
नेप्सेको नयाँ कारोबारप्रणालीमार्फत अनलाइनमा मात्र आधार भएर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या पनि विस्तारै बढ्दै गएको नेप्सेले जनाएको छ। यस अवधिमा नेप्सेको कुल कारोबारको १५.६ प्रतिशत अनलाइनमार्फत सेयर कारोबार भएको छ।
नेप्सेले २०७५ कात्तिक २० देखि नेप्से अनलाइन ट्रेडिङ सिस्टम(नट्स) सुरु गरेको बिहीबार एक वर्ष पूरा भएको छ। सो अवधिमा १५ लाख २४ हजार १४ कारोबारबाट १ खर्ब ६ अर्ब ९ करोड ३४ लाख रुपैयाँ बराबरको ३७ करोड १२ लाख ५७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो।
यस अवधिमा सेयर बजार घट्दो क्रममा नै देखिएपनि एकै दिन २ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ भने १२ दिन एक अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ। यो बिचमा एक दिन साढे २९ हजार वटा कारोबार भएका छन् भने २३ दिन १० हजारभन्दा धेरै पटक सेयर कारोबार भएको छ।यो अवधिमा नेप्सेमा २४२ दिन सेयर कारोबार भएको छ।
यस अवधिमा १६ हजार २३४ लगानीकर्ताले अनलाइनमार्फत सेयर कारोबार गरेको नेप्सेले जनाएको छ।अहिले नेपाल क्लियरिङ हाउससँग जोडिएका ७५ भन्दा धेरै बैंक तथा वित्तीय संस्थामार्फत सेयर कारोबारको रकम भुक्तानी गर्न सकिन्छ।त्यसका साथै सेयर कारोबार गर्दा २५ प्रतिशत रकम अग्रिम दलाल कम्पनीलाई भुक्तानी दिनुपर्ने कानुनी व्यवस्थाअनुसार खरिदकर्ताले मात्र २५ प्रतिशत रकम अग्रिम भुक्तानी दिर्नुपर्ने कुरामा सत्यता नरहेको समेत नेप्सेले जनाएको छ।
तर, पछिल्ला महिनाहरूमा निरन्तर ओरालो लागेर करिब नौ महिनाको बिन्दुमा परिसूचक पुगेको छ। साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेरै बन्द भएको छ।बिहीबार ६.०५ अंकले घटेर ११३१.९७ बिन्दुमा झरेर बन्द भएको हो। बिहीबार कुल १ सय ६३ वटा कम्पनीको १२ लाख ९६ हजार कित्ता सेयर ३७ करोड ४१ रुपैयाँभन्दा बढीमा किनबेच भएको छ। बिहीबार परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। बुधबार २० करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।आज कारोबारमा आएका समूहमध्ये व्यापार, निर्जीवन बिमा र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूह घटेका छन्। आज एनएमबी बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ। बैंकको ११ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
समग्र परिसूचकमा गिरावट भएको दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।