फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालद्वारा भारतीय सीमा क्षेत्रमा सुरक्षा

(GMT+08:00) 2019-11-11 15:05:55

अतिक्रमण बढेपछि सरकारले सीमामा सुरक्षा बढाएको छ। सशस्त्र प्रहरीले बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) थप गरेको हो। सशस्त्रलाई सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ। सुरक्षा बलको उपस्थिति कमजोर भएपछि अतिक्रमण बढ्दै गएको थियो। भारतले सीमामा सुरक्षा उपस्थिति बाक्लो बनाएपछि नेपालको पनि चासो बढेको हो। सीमा निगरानी थप मजबुत बनाउँदै लगिएको सशस्त्रका प्रवक्ता एवं सशस्त्र डीआईजी सुरजकुमार श्रेष्ठको भनाइ छ। उहाँका अनुसार नेपाल–भारत सीमामा १ सय ७ वटा बीओपी छन्। एक वर्षमा २० वटा थप गरिएको हो। पूर्व, पश्चिम र दक्षिणी सीमामा गत वर्षसम्म ८७ वटा मात्रै बीओपी थिए। १५ हजार हाराहारीमा जनशक्ति सीमामा तैनाथ छन्। भारतसँग सीमा जोडिएका २२ जिल्लामा बीओपी छन्। लिम्पियाधुरा–लिपुलेक–कालापानीको विवाद भएको जिल्ला दार्चुलामा भने छैन। पश्चिम पहाडका बैतडी, डडेलधुरा र पूर्वका पाँचथर र ताप्लेजुङमा बीओपी छैन। चालू वर्ष २५ बीओपी थप्ने योजना छ।

भारतसँग १ हजार ८ सय ८० किलोमिटर सीमामा १८–२० किलोमिटर दूरीमा बीओपी छन्। त्यसलाई घटाएर ५–७ किलोमिटरमा बीओपी राख्ने तयारी छ। दसगजाको एक किलोमिटरभित्रै बीओपी राखिने उहाँले बताउनुभयो। सीमानजिकै सकेसम्म ५ सय मिटरभित्र बीओपी बनाउने तयारी छ। हाल दसगजाबाट ४–५ किलोमिटर टाढा छन्। सशस्त्रले बीओपी थपेर २ सयभन्दा बढी पुर्‍याउने योजना बनाएको अन्नपूर्णपोस्ट अनलाइनले लेखेको छ।

सशस्त्रले दसगजा अतिक्रमण नियन्त्रण, सीमास्तम्भ निगरानी, रेखदेख र अभिलेख राख्नेलगायत काम गर्दै आएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग मिलेर नियमित संयुक्त गस्तीसमेत गरिरहेको छ। नेपालको तुलनामा भारततर्फ धेरै संख्यामा सीमा पोस्ट र एसएसबी छन्। भारततर्फ ३ सय ३० भन्दा बढी पोस्ट छन्। भारततर्फ २ देखि अढाई किलोमिटर दूरीमा एसएसबीका चेकपोस्ट छन्। भारतले नेपालसँगको सीमामा ४५ हजारभन्दा बढी एसएसबी तैनाथ गरेको छ। भारतकै बराबर सीमा जनशक्ति पुर्‍याउने उद्देश्य रहेको उनको भनाइ छ। सशस्त्र प्रहरी बल भने ३७ हजार मात्रै छ।

सीमामा सुरक्षा चुस्त र मजबुत बनाउन ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्नुपर्ने सीमा सुरक्षाका विज्ञ बताउँछन्। सशस्त्रले २०५८ सालदेखि सीमा सुरक्षा गर्न थालेको हो। व्यवस्थित रूपमा २०६३÷६४ देखि कार्यालय स्थापना गरेर सीमा सुरक्षा गरिरहेको छ। सशस्त्रभन्दा पहिले सेनालाई सीमा सुरक्षामा खटाइएको थियो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले सीमा सुरक्षालाई सरकारले प्राथमिकता राखेको बताउनुभयो।११४ बीओपी थप्ने योजना मन्त्रालयको छ।

सीमासम्बन्धी अनुसन्धानकर्ता द्वारिकानाथ ढुंगेलले सिमानामा सुरक्षा उपस्थिति कमजोर रहेको बताउनुभयो। लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित २३ जिल्लाको ७१ स्थानमा भारतले सीमा मिचेको छ।

जानकारी तथा लेखहरु