फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपाली–चिनियाँ कलाकर्मीबीच सहकार्य हुने

(GMT+08:00) 2019-11-14 13:44:37

झन्डै आठ सय वर्षअघि कलाकार अरनिकोले नेपाल–चीन कला सम्बन्ध शुरूवात गरेयता दुवै देशका कलाकारले कलामार्फत् दुई देशको सम्बन्धमा इँटा थप्ने काम गर्दै छन् । नोभेम्बर महिनाको अन्त्यमा बेइजिङमा हुने सेरामिक आर्टको प्रदर्शनीका लागि नेपालका चित्रकार रवीन्द्र श्रेष्ठ र चिनियाँ चित्रकार ली छ्यानले एउटै माटोको प्लेटमा संयुक्त चित्रकला बनाउने जानकारी दिइएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा चित्रकार छ्यानले बताएअनुसार यसरी सम्भवत: पहिलोपटक सहकार्य हुन लागेको हो।

चाइना फाउन्डेसन फर पिस एन्ड डेभेलपमेन्ट नामक संस्थाले गरेको कोलाब्रेसन आर्टका लागि चीनबाट छनोट भएका छ्यान र नेपालबाट श्रेष्ठले 'हामी एउटै आमाका सन्तान हौं' र 'हामी एउटै उद्देश्यका लागि एकै ठाउँमा उभिएका छौं' भन्ने भावलाई समातेको फाउन्डेसन सम्बद्ध रहेकी लिउ रु सीले बताउनुभयो। दुवैले संयुक्त रूपमै माटोमा तीन वटा चित्र बनाउनेछन्।

फाउन्डेसनले हालसम्ममा थुप्रै मुलुकसँग सहकार्य गरेको र यो वर्ष नेपाल रोजिएको उहाँले बताउनुभयो। माटोको पहिलो प्लेटको चित्रमा दुवैले आ–आफ्नो हिमालय रेखामा बुद्धको आँखा झल्काउने दृश्यहरू, दोस्रोमा दुवैले आ–आफ्नो देशबाट देखिने हिमाल र तेस्रोमा नेपालका तर्फबाट श्रेष्ठले मन्दिरका टुँडाल र चीनका तर्फबाट छ्यानले टुँडालको बीचमा नमस्ते वा याकको चित्र कोर्नेछन् । चित्रको माथितिर भने दुई देशकै हुलाक टिकटहरू अंकित रहनेछन्।

चीनको च्याङ्सी प्रान्तको चिङतचन सहरमा माटोबाट बन्ने चित्रकलाको लामो इतिहास छ । छ्यानका अनुसार करिब १ हजार ५ सय वर्षदेखि त्यस सहरमा अहिलेसम्म पनि माटोमा चित्रकला बनाउने कार्य जारी छ । चीनको यस प्रान्तको प्रमुख जीविकोपार्जन गर्ने आधार यही चित्र रहेको चित्रकार उहाँले बताउनुभयो। उहाँका अनुसार यस चित्रलाई पहिले युरोपियन देशहरूमा सुनसँग साटिन्थ्यो।

यस्ता खाले एउटा चित्र तयार पार्न तीन हप्ता समय लाग्छ । माटोको प्लेट बनाउन एक हप्ता, त्यसमा अर्को एक हप्तासम्म चित्र बनाएपछि चार दिनसम्म आगोमा पोलेर तीन दिन त्यतिकै सेलाउन दिनुपर्छ । यति भए पनि चित्र बनाउने क्रममा प्रयोग गरिएका रंग पछि नखुइलिने छ्यानले बताउनुभयो। '१ हजार ३ सय साठी डिग्री तापक्रम आगोमा माटोमा बनाइएको चित्रलाई राखेरपछि मात्र चित्रको वास्तविक रंग आउँछ ।' आगो र माटोको सम्मिश्रणबाट तयार हुने भएकोले सबै चित्र सग्लो रूपमा नआउने उहाँले जनाउनुभयो।

यस्ता खाले चिनियाँ चित्रमा पहिलेपहिले परम्परागत र सांस्कृतिक पक्षका चित्र बने पनि अहिले भने वरपरको घटना, समसामयिक सन्दर्भलगायत चित्रण हुँदै आएको छ्यानको सुनाउनुभयो। यस्ता चित्रकला बनाउन धेरै समय खर्चिने र फुट्ने सम्भावना भए पनि चिङतचन सहरबासीले यसलाई पेसाभन्दा पनि आफ्नो पराम्परागत कला र धर्म पालनाको रूपमा लिएको उहाँले खुलाउनुभयो।।

जानकारी तथा लेखहरु