फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा चीनबाट प्याज आयात बढ्दो

(GMT+08:00) 2019-11-16 13:56:35

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार ३ महिनाको अवधिमा ३ करोड ६४ लाख रुपैयाँको ७ लाख ९० हजार २ सय किलो आयात भएको छ। जसमध्ये चीनबाट मात्रै ३ करोड १३ लाख रुपैयाँको ७ लाख ४९ हजार २ सय किलो आयात भएको विभागले जनाएको छ।

२०७५/७६ को पहिलो तीन महिनामा १० करोड ४३ लाख रुपैयाँको ३० लाख ९८ हजार ६ सय किलो आयात भएको थियो। उक्त प्याज भारतबाट मात्रै आयात भएको थियो। भारतले प्याज उत्पादनमा कमी आएको जनाउँदै असोज दोस्रो सातादेखि निर्यात बन्देज गरेपछि व्यवसायीले विकल्पमा चीन रोजेका कान्तिपुर अनलाइनले जनाएको छ।

'फाटफुट रूपमा तिब्बत र खासाबाट प्याज आउँछ,' तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले भन्नुभयो, 'चीनबाट आयातित प्याजको स्वाद फरक छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार प्रतिबन्धकै समयमा नेपालमा चाडबाड भएकाले चीनबाट मगाएको बताउनुभयो।

व्यवसायीका अनुसार चीनको प्याज ठूलो आकारको हुन्छ। जसले गर्दा उपभोक्ताहरू त्यति रुचाउँदैनन्। नेपाली तथा भारतीय प्याजकै माग उच्च रहेको उनीहरूको दाबी छ। कृषि विभागका वरिष्ठ बागबानी अधिकृत नारायण काफ्ले पनि उत्पादन न्यून भएको बताउनुभयो। प्याज उत्पादनका लागि पर्याप्त सिँचाइ चाहिन्छ, कात्तिक–मंसिरमा लगाएर चैत–वैशाखमा उखेलिन्छ। त्यस अवधिमा मौसम सुक्खा भएकाले उत्पादनमा सिधै असर पुर्‍याउँछ।

भन्सार विभागको तथ्यांकअनुसार २०७१/७२ मा १ करोड ४ लाख रुपैयाँको १ लाख ९ हजार किलो प्याज आयात भएको थियो। २०७५/७६ मा ४० करोड २५ लाख रुपैयाँको १ करोड ५ लाख १५ हजार किलो आयात भएको छ।

कृषि मन्त्रालयले भने कृषि उपजको उत्पादनमा आत्मनिर्भर उन्मुख भएको दाबी गर्छ। मन्त्रालयले तयार पारेको प्रतिवेदन/१४ औं योजनाको लक्ष्यअनुसार २०७५/७६ मा तरकारीको उत्पादनको लक्ष्य ४० लाख टन राखेकामा ४१ लाख ७५ हजार टन उत्पादन भएको दाबी गरेको छ। 'तरकारीमा आत्मनिर्भरतर्फ र 'नयाँ प्रविधिको प्रयोग, हाइटेक हर्टिकल्चरको माध्यमबाट तरकारी खेतीले व्यावसायिकतामा वृद्धि भएको छ,' प्रतिवेदनमा भनिएको छ, 'लक्ष्यभन्दा १ लाख ७५ हजार टन बढी उत्पादन भएको छ । तरकारीको उत्पादन १.८६ प्रतिशत र उत्पादकत्वमा ०.११ प्रतिशतले बढेको छ।'

यसैबीच प्याजको मूल्य एक महिनामा ५० प्रतिशतले बढेको छ । उत्पादनमा कमीसँगै प्याजको माग बढेपछि मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। समितिको तथ्यांकअनुसार असोज २८ गते प्रतिकिलो ९९ रुपैयाँ थोक मूल्य थियो।

जानकारी तथा लेखहरु