१३ औं दक्षिण एसियाली खेलकुदको मिति नजिकिँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तयारीलाई अन्तिम रूप दिन थालेको छ। सात देशका खेलाडी, अफिसियलसमेत गरी करिब ७ हजारको व्यवस्थापन तथा खेलमेला भव्य पार्न हरसम्भव प्रयास गरिने राखेपको दाबी छ।
मंसिर १५ देखि २४ सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुर सहरमा आयोजना हुने प्रतियोगिताका लागि शनिबारदेखि १५ दिने काउन्टडाउन सुरु भएको छ। तर पूर्वाधार, खेल सामग्रीलगायतका महत्त्वपूर्ण कामहरू सम्पन्न भइसकेका छैनन्। प्रतियोगिताको उद्घाटन तथा समापनस्थल दशरथ रंगशाला र पोखरा रंगशालाको निर्माण जारी छ। राज्यको प्रतिष्ठासँग जोडिएकाले यस प्रतियोगितालाई राष्ट्रिय उत्सवको रूपमा सम्पन्न गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सुनाउनुभयो।
साग आयोजना अपटेडबारे राखेपले लामो समयपछि औपचारिक पत्रकार सम्मेलन गरेको हो । सदस्य–सचिव सिलवालले पूर्वाधार, प्रशासनिक र राष्ट्रिय टिम तयारीलाई एकैसाथ अगाडि लगिएको र सबैमा सन्तोषजनक प्रगति भइरहेको जानकारी गराउनुभयो। सागमा २७ खेल समावेश गरिएको छ। सबै देशका लागि खेल तथा खेलाडी दर्ताको समय बुधबारसम्म कायम रहेकाले अन्तिम सूची आइसकेको छैन। अहिलेसम्म प्याराग्लाइडिङका लागि नेपाल र पाकिस्तानबाट मात्र टिम दर्ता भएकाले सो खेल हुने/नहुने निश्चित भइसकेको छैन। ३ सय २४ रजत र ४ सय ८७ कांस्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि ७ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने कान्तिपुरले जनाएको छ।