फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको एउटा जलविद्युत् आयोजनाले भोलिदेखि व्यावसायिक उत्पादन सुरु गर्ने

(GMT+08:00) 2019-11-17 14:58:59

रसुवास्थित माथिल्लो त्रिशूली थ्रि 'ए' जलविद्युत् आयोजनाले सोमबारदेखि व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ। निर्माण सुरु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो।

६० मेगावाट क्षमताको आयोजनाले पाँच महिना अघिदेखि नै उत्पादन सुरु गरेको थियो। आयोजनाको केही काम बाँकी रहेपछि आयोजना व्यावसायिक उत्पादनमा गएको थिएन। सोमबार टेकिङ ओभर सर्टिफिकेट दिने र सोही दिनदेखि व्यावसायिक उत्पादनमा जाने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताउनुभयो।

रसुवामा बाँध र नुवाकोटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो। ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् गत जेठ ३ गते र दोस्रो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् साउन १७ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। व्यावसायिक उत्पादन सुरु भएपछि एक वर्षसम्म त्रुटि सच्याउने अवधि हुन्छ।

यो आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान गरेको छ। दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन हुन्छ। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजनाको निर्माण ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी)ले गरेको हो।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न सिजिजिसीसँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ साल वैशाखबाट निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पुर्याएको थियो। आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपयाँ खर्च हुने छ।

आयोजनाबाट उत्पादन भएको विद्युत् थ्रिबी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिएको छ। जसमा पावर हाउस (सिम्ले)देखि थ्रिबी हबसम्म १३२ केभी, थ्रिबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको नागरिकन्यूज डटकममा खबर छ।

जानकारी तथा लेखहरु