फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चक्रपथ दोस्रो खण्ड विस्तारका लागि रुख काट्ने काम धमाधम

(GMT+08:00) 2019-11-18 19:57:27

चक्रपथ सुधार योजनाले रिङरोडको दोस्रो खण्डअर्न्तगत 'साइट क्लियरेन्स' का लागि धमाधम रुख काटिरहेको छ। सडक किनारामा पर्ने कंलकी–बालाजु क्षेत्रका चार सयवटा रुख कटान भइसकेको छ। उक्त सडक खण्डमा २ हजार ५७ वटा रुख काट्ने सरकारको योजना रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

चक्रपथको दोस्रो खण्ड ११ दशमलव ६ किमी छ। चीन सरकारको अनुदान सहयोगमा सडकको मध्यभागबाट २५/२५ मिटर सडक बन्न लागेको हो। २५/२५ मिटर बाहेक ६/६ मिटर ट्रयाक रोड नेपाल सरकारले बनाउने छ।

योजनाअनुसार बाहिरी घेरामा हटाउनुपर्ने एक हजार ६७ र भित्री घेरामा नौ सय ९० वटा रुख काट्नैपर्ने पहिचान गरिएका छन्। चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले काटिएको स्थानमा रुखविरुवा फेरि रोपिने दाबी गर्नुभयो। 'यसलाई धेरै ठूलो इश्यु बनाउन जरुरी छैन। जंगलभित्र बाटो लगेको हैन,' उहाँले भन्नुभयो, 'सडकको राइट अफ वेमा रोपेका रुख हटाउन लागेको हो। पछि सडकको दुवैतिर ग्रिन बेल्ट राख्छौं।' पुराना ढल्न लागेका रुख भएकाले पनि काट्न जरुरी रहेको दाबी उहाँले गर्नुभयो। 'पछि रोप्ने कुनै रुख फल लाग्ने, कुनै फूल फुल्ने विशेष किसिमको हुनेछ,' उहाँले भन्नुभयो।

अहिले सामाखुसी क्षेत्रका सडक किनारका रुख कटान गर्ने तयारीमा छ। रुख कटान गर्न वन निगमलाई जिम्मेवारी दिइएको छ। निगमले रुख काटेपछि पेस गरिने बिलका आधारमा भुक्तानी दिने योजना प्रमुख रिमालले बताउनुभयो। रुख कटान, सडक मिचेर बनाइएका संरचना भत्काउनेलगायत क्लियरेन्स कामका लागि यो वर्ष १० करोड छुट्याइएको छ।

योजनाको लक्ष्य मंसिरसम्ममा साइट क्लियरेन्स गर्ने छ। योजनाका अनुसार कंलकी–धोबीखोला खण्डअर्न्तगत सार्नुपर्ने बिजुलीका पोल एक हजारवटा छन् जसमध्ये तीन सय वटा सारिसकेको छ। खानेपानीका पाइप सार्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय भइरहेको योजनाले जनाएको छ। दोस्रो खण्ड कलंकीबाट सुरु भएर चाबहिलस्थित गोपीकृष्ण हल अगाडिको पुलमा पुगेर टुंगिन्छ। सडकको चौडाई फुटपाथसहित ५० मिटरको हुनेछ। प्रतिघन्टा ५० किमिका दरले सवारीसाधन सञ्चालन गर्न सकिने छ। सहायक लेनमा प्रतिघन्टा २० किमिका दरले गुडाउन सकिनेछ।

सडक बिस्तार गर्दा हटाउनुपर्ने रुखविरुवा जोगाउन काठमाडौं महानगरपालिकाको 'ट्री ट्रान्सप्लान्टर' ल्याउने योजना अलपत्रमा छ। नयाँ रुख रोपेर हुर्काउन निकै समय लाग्छ। यसैलाई ध्यानमा राखेर महानगरले हुर्किसकेका १० देखि १२ फिटसम्मका रुखहरू सार्न मिल्ने दुइवटा 'ट्री ट्रान्सप्लान्टर' मेसिन ल्याउने योजना चार वर्षअघि बनाएको थियो। उक्त मेसिन खरीद गर्न हालसम्म सम्बद्ध पदाधिकारी कसैले पनि चासो लिएका छैनन्। 'ट्री ट्रान्सप्लान्टर' मेसिन विदेशमा खासै नयाँ प्रविधि हैन। नेपालमा अहिलेसम्म यस्तो प्रविधि भित्रिएको छैन। मेसिनले रुखलाई जेरैबाट उखेल्छ। त्यसकै आकारमा अर्को ठाउँ तयार गरिएको खाल्डोमा रुख लगेर गाडिदिन्छ।

जानकारी तथा लेखहरु