फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जुम्लामा दाँते ओखरले भित्र्याउँछ दुई करोड

(GMT+08:00) 2019-11-19 19:39:24
जुम्लाको चन्दननाथ नगरपालिका २ का जयकृष्ण आचार्यले ओखर बेचेर ३५ हजार रुपैयाँ कमाउनुभयो। पहिलो पटक ओखर बेचेर ३५ हजार कमाउदा निकै उत्साहित नागरिक अनलाइनले लेखेको छ। उहाँले अहिले व्यवसायिक रुपमा ओखर खेती गरिरहनु भएको छ। ओखरको बगैँचामा रहेका चारवाट बोटमा फलेको ओखरले ३५ हजार रुपैयाँ कमाउँदा ओखरखेती प्रति निकै आकर्षण बढेको उहाँ बताउनुहुन्छ। आगामी पाँच वर्षमा ओखर बेचेर पाँच लाख रुपैयाँसम्म कमाउन सक्ने गरी बगैचाँ व्यवस्थापनमा जुट्नु भएको छ। ओखरमा खासै दुख छैन्, उहाँले भन्नुभयो,'शुरुको चरणमा हुर्काउन दुख हुन्छ। हुर्केपछि खासै दुख हुदैन्। किसानका लागि कम मेहनतमा बढी आयआर्जनमा सहयोग पुग्ने खेती ओखर नै हो। '

ओखर फले ब्यापारी गाउँमै खरिद गर्न आउँछन्। बजारको माग अनुसार ओखर बजार ल्याउने गरिएको छ। आचार्य भन्नुहुन्छ,'ओखर खेती यहाँको हावापानीमा निकै अनुकुल छ। किसानका लागि लाभदायक पनि। ' पातारासी गाउँपालिकाका किसान गोविन्द रावत ओखरको बोरा बोकेर सदरमुकाम खलंगामा आइपुग्नुभयो। उहाँले कोसेली घरमा पुगेर ओखेर बेच्नुभयो। निकै नरम बोक्रा भएको ओखर क्षणभरमै कोसेली घरले किन्यो। उहाँ पाँच हजार रुपैयाँ बोकेर घर फर्किनुभयो। ओखर खेती बढ्दो छ। बजार पनि छ। उहाँले भन्नुभयो,'ओखर खेती प्रति किसान आकर्षण बढेको छ। 'उहाँले ६ रुपैयाँ प्रतिदानामा ओखर बेच्नुभयो। अहिले उहाँको गाउँमा ओखरको बगैँचा स्थापना भएर खेती भइरहेको छ। ओखर असोजमा टिप्न उपयुक्त हुन्छ। हिउँदमा मलखाद्यको व्यवस्थापन राम्रो गर्न सकेको खण्डमा रोगकिराको संक्रमण पटक्कै हुदैन्। सबै जसो ओखर खेती गर्न थालेका छन्।

ओखर भण्डारण गर्न पनि समस्या छैन्। बजारमा लैजान पनि कुनै समस्या छैन्। जति लामो समय भण्डारण गर्यो उति नै उत्तम, उहाँले थप्नुभयो,' ओखर खेती किसानका लागि राम्रो आम्दानीको स्रोत हो।' जुम्लाको एक नगरपालिका सहित आठ वटै स्थानीय तहमा ओखर खेती हुने गरेको छ। एकै बोटमा पचास हजार रुपैयाँ सम्मको ओखर फल्ने गरेको किसान आचार्य बताउनुहुन्छ। उहाँका अनुसार एक बोटमा १० हजार ओखरका दाना फल्छन्। किसानले बीउ आफै उत्पादन गरेर ओखर खेती गरिरहेका छन्। तर पछिल्लो समयमा उन्नत जातको ओखर लगाउने क्रम पनि शुरु भएको छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा ओखर खेतीको संभावना जुम्लामा बढेको बताउनुहुन्छ। उहाँका अनुसार वर्सेनी ओखर खेतीको क्षेत्रफल बढिरहेको छ। जुम्लाको १ सय ९० हेक्टरमा ओखर खेती हुन्छ। एक वर्षमा पन्ध्र टन ओखर फल्छ। यहाँको ओखर कोसेली घरमा पुगेर प्याकेजिङ गरेर बिक्री गर्ने गरिएको छ।

काठमाण्डौ, पोखरा, नेपालगंज र सुर्खेत लगायतका अर्गानिक पसलमा यहाँको ओखर खपत हुने गरेको प्रमुख देवकोटा बताउनुहुन्छ। ओखरको माग राम्रो छ। कृषि विकास कार्यालय जुम्लाले ओखर प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ। तीन रोपनी जग्गा एकै कलष्टरमा भएका किसानको समूह बनाएर विरुवा, काटछाट, रोगकिरा, सिचाइँका क्रियाकलाप उपलव्ध गराउने आएको कृषि विकास कार्यालय जुम्ला बताउँछ। ओखर बेचेर जुम्लाले दुइ करोड ५० लाख रुपैयाँ भित्र्याउछ।

कोसेली घरका सञ्चालक गोविन्द आचार्य आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ ओखर हुने गरेको बताउनुहुन्छ। उनीहरु ओखरका लागि कोसेली घर धाउँछन्। साउन महिनादेखि यता झण्डै ६ क्वीन्टल ओखर बेचिसकेको उहाँ बताउनुहुन्छ।

जानकारी तथा लेखहरु