फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साग खेलकूदमा नेपालका ५ सय ९७ खेलाडी प्रतिस्पर्धामा

(GMT+08:00) 2019-11-20 14:08:52

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ सय ९७ नेपाली खेलाडीको सहभागिता रहने निश्चित भएको छ। राष्ट्रिय टिम तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्याराग्लाइडिङबाहेक २८ खेलमा नेपालका ३ सय १३ पुरुष र २ सय ८४ महिला खेलाडीको प्रतिस्पर्धा रहने जानकारी दिएको कान्तिपुर अनलाइनले लेखेको छ।

प्रतिस्पर्धी टिम नभएपछि सागबाट प्याराग्लाइडिङ खेल हटाइएको छ। यद्यपि टिम दर्ता समय बुधबारसम्म निर्धारण गरिएको छ। राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले संघसँगको सम्पर्कमा अन्य टिमको दर्ता सम्भावना समाप्त भएको जानकारी पाएपछि प्याराग्लाइडिङको खेलाडी कटौती गरिएको बताउनुभयो। एथलेटिक्स र भारोत्तोलनमा पनि कटौती भएको छ। एथलेटिक्समा २८ जना र भारोत्तोलनमा ६ खेलाडी कटौती हुनेछन्।

एथलेटिक्समा महिला र पुरुषका १८–१८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। हरेक स्पर्धामा एउटा देशबाट बढीमा २ खेलाडी समावेश गर्न पाइने प्रावधान छ। नेपालबाट एथलेटिक्समा पुरुषतर्फ २६ र महिलातर्फ १८ गरी ४४ खेलाडीको सहभागिता रहनेछ।

'हामीले सबै स्पर्धामा २ खेलाडी समावेश गरेका छैनौं। यद्यपि नेपालले सबै इभेन्टमा भाग लिनेछ। पदकको सम्भावना भएका म्याराथन, मध्यम दूरीका ८ सय, १५ सय, ५ हजार र १० हजार मिटरलगायतकादौडमा २ खेलाडी हुनेछन्। फिल्डतर्फका स्पर्धामा नेपाल कमजोर छ र त्यसमा एक खेलाडीमात्र राखिनेछ,' खेलाडी कटौतीको कारणबारे एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङले भन्नुभयो। उहाँले म्याराथन तथा ५ हजार र १० हजार मिटरमा स्वर्ण पदकको दाबीसमेत गर्नुभयो।

भारोत्तोलनले पनि १० मध्ये ७ स्पर्धामा मात्र सहभागिता जनाउने छ। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अहिले पुरुष/महिला १०–१० खेलाडी छन्। नेपालले सहभागिता जनाउने स्पर्धाको टुंगो प्रतियोगिताको दुई दिनअघि मात्र लाग्ने संघका महासचिव पार्थ सारथी सेन गुप्तले जानकारी दिनुभयो। 'यसअघिका दुई संस्करणमा पनि हामीले ६ स्पर्धामा मात्र सहभागिता जनाएका थियौं। अन्य टिमको दर्ता हेरेर पदकको सम्भावना बढी भएको तौल समूहमा प्राथमिकता दिनेछौं,' उहाँले भन्नुभयो।

मंगलबार पत्रकार सम्मेलनमा संयोजक रानाभाटले राष्ट्रिय टिम तयारीले गरेका काम र उपलब्धिको फेहरिस्त प्रस्तुत गर्नु भएको थियो। सागलक्षित तयारीका लागि २१ खेलका राष्ट्रिय टोलीले बैदेशिक प्रशिक्षण तथा प्रतियोगितामा सहभागी भएको, खेलाडीहरूलाई इन्ज्युरीबाट जोगिने, एन्टी डोपिङ, मनोवैज्ञानिक अभिप्रेरणा, पोषण र खुराक तथा प्रशिक्षण विधिविज्ञानबारे तालिम दिइएको उहाँले जानकारी दिनुभयो।

सागलक्षित तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जेठ १५ देखि चरणबद्ध प्रशिक्षण सिविर सञ्चालन गरेको थियो। जेठ १५ देखि साउन १ सम्म विशेष प्रशिक्षण, साउन १ देखि भदौ १५ सम्म पहिलो चरण, भदौ १६ देखि असोज मसान्तसम्म दोस्रो चरण सम्पन्न भएको छ। कात्तिक १ देखि प्रतियोगितासम्म चल्ने तेस्रो चरणको प्रशिक्षण जारी छ। अहिले १२ खेलका राष्ट्रिय टोली विदेशमै रहेर तयारी गरिरहेका छन्।

'एसियाली खेलकुददेखि आठौंसम्मको तयारीका क्रममा बन्द प्रशिक्षणको अवधि लामो रह्यो। सागकै लागि पनि टोलीले ६ महिनाको प्रशिक्षण पाएका छन्,' संयोजक रानाभाटले भन्नुभयो, 'हामीले उच्च तयारी गरेका छौं र अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल हुनेमा ढुक्क छौं।' राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले शनिबार एउटा कार्यक्रममा नेपालले आसन्न सागमा ५० स्वर्ण जित्ने भविष्यवाणी गर्नु भएको थियो।

राष्ट्रिय टिम तयारीका लागि ४५ करोड रुपैयाँ छुट्याइएको संयोजक रानाभाटले जानकारी दिनुभयो। 'हामीले त्यही सिलिङमा रहेर खर्च गरेका छौं,' उहाँले थप्नुभयो। सागको तयारीमा रहेका खेलाडीले पहिलो, दोस्रो र तेस्रो चरणमा गरी क्रमश: २ हजार, २२ सय र २५ सय रुपैयाँ पाइरहेका छन्। त्यसबाहेक २ सय ५० रुपैयाँ पाकेट खर्च पनि उपलब्ध गराइएको छ।

जानकारी तथा लेखहरु