फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कात्तिकसम्म १ अर्ब ३५ करोड राजस्व संकलन

(GMT+08:00) 2019-11-20 14:12:31
आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७६-०७७ को पहिलो चौमासिक अर्थात कात्तिक महिनासम्म ७७ प्रतिशत मात्र लक्ष्य प्राप्त गर्न सफल भएको छ। कास्की र स्याङ्जा जिल्ला क्षेत्र अधिकार रहेको आन्तरिक राजश्व कार्यालय पोखराले कात्तिक मसान्तरसम्म विभिन्न कारणले गर्दा लक्ष्य पूरा गर्न नसकेको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताउनुभएको कारोबार अनलाइनले लेखेको छ।

उहाँका अनुसार पहिलो चौमासिकमा कार्यालयले १ अर्ब ७६ करोड राजश्व उठाउने लक्ष्य रहेकोमा १ अर्ब ३५ करोड अर्थात ७७ प्रतिशत मात्र लक्ष्य प्राप्त गर्न सफल भएको छ। तनहुँ र बागलुङ जिल्ला गत कात्तिक महिनादेखि पोखरा कार्यालयबाट छुट्याएसँगै पहिलो वर्षमा गरिएको पूर्व अनुमान अपेक्षाकृत नभएको हुन सक्ने सूचना अधिकारी लामिछानेले बताउनुभयो। कात्तिक महिनामा मात्र कार्यालयले लक्ष्य भन्दा बढी एक सय २ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको छ।

२९ करोड ३१ लाखको लक्ष्य रहेको कात्तिक महिनामा कार्यायले २९ करोड ७७ लाख राजश्व संकलन गरेको थियो। साउनमा ७६ करोड ३५ लाखको लक्ष्यमा ५३ करोड ८६ लाख राजश्व संकलन गर्‍यो भने भदौमा २६ करोड १६ लाख लक्ष्य रहेकोमा २३ करोड ७० लाख राजश्व संकलन गरेको सूचना अधिकारी लामिछानेले बताउनुभयो। त्यसैगरी कार्यालयले असोज महिनामा पनि धेरै लक्ष्य प्राप्त गर्न सकेन। असोजमा ४४ करोड २५ लाखको लक्ष्य रहेकोमा २९ करोड ८ लाख मात्र राजश्व संकलन गरेको थियो।

कार्यालयले आयकरतर्फ ९५ करोड ४८ लाख राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा पहिलो चार महिनामा ६५ करोड अर्थात ६८ प्रतिशत मात्र लक्ष्य प्राप्त गरेको छ। मूल्य अभिवृद्धि करबाट कार्यालयले ५१ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा चार महिनामा ४९ करोड ६० लाख अर्थात ९६ प्रतिशत मात्र लक्ष्य प्राप्त गरेको सूचना अधिकारी लामिछानेले बताउनुभयो। त्यस्तै अन्तशुल्कतर्फ चार महिनामा कार्यालयले ६ करोड १२ लाखको लक्ष्य प्राप्त गरे पनि ८ करोड ८० लाख अर्थात १ सय ४४ प्रतिशत सफलता हासिल गर्न सफल भएको उहाँले जनाउनुभयो।

त्यसैगरी चालु आर्थिक वर्षको चार महिनामा हालसम्म २४ हजार ७ सय ६५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको सूचना अधिकारी लामिछानेले बताए। उनका अनुसार चार महिनामा ८ हजार २ सय २३ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन्। कास्की र स्याङ्जामा हालसम्म १ लाख ३२ हजार ७ सय ७ जना करदाता रहेको सूचना अधिकारी लामिछानेले बताउनुभयो।

जानकारी तथा लेखहरु