फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टेलिकमको फोरजी सिम वितरण सम्पन्न

(GMT+08:00) 2019-11-20 14:14:30

नेपाल टेलिकमले नेपालभरका विभिन्न सहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्य बुधबार सकिएको छ। यो अभियानको पहिलो चरणको कार्यक्रम बुधबार पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिएको टेलिकमले जनाएको छ। उक्त अभियान गत कात्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको नेपाल खबर अनलाइनले लेखेको छ।

हालसम्म यस अभियान अन्तर्गत अपार जनसहभागिताका साथ माग बमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी÷थ्रीजीबाट फोरजीमा स्तरोन्नति समेत गरिएको छ। कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख सहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो।

यस कार्यक्रमअन्तर्गत गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको छ। पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ।

फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट स्टार४४४ह्याक्स डायल गर्नुपर्नेछ। यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले २ सय एमबी डाटा वोनस स्वरुप पाउनु हुनेछ। साथै फोरजी सेवा सुचारु गर्न सिम परिवर्तन गर्नुपर्ने भएमा सोही बमोजिम ग्राहकलाई अलर्ट म्यासेज आउँछ। कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ।

यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन्।

गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका प्रमुख शहरहरुमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचार¬प्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ। साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन्।

यस प्रकारका अभियान तथा कार्यक्रमहरु देशका अन्य भागमा पनि निरन्तर गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ। कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरेको थियो।

जानकारी तथा लेखहरु