फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका ऊर्जामन्त्री र युननान प्रान्तका गभर्नरबीच काठमाडौंमा भेटवार्ता

(GMT+08:00) 2019-11-26 14:19:06

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गभर्नर रुएन छङ्फाबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सहकार्य गरेर लगानी गर्ने विषयमा छलफल भएको नागरिकन्यूज डटकमले जनाएको छ। आइतबार काठमाडौं आएको गभर्नर नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डलले ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो।

छलफलमा युननान प्रान्तले नेपालको ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको थियो। ऊर्जामन्त्री पुनले तामाकोसी जलविद्युत् आयोजनामा युनानको प्रान्तीय सरकारले नै लगानी गर्ने खबरले हर्षित भएको बताउँदै अन्य जलविद्युत् आयोजनामा पनि लगानी गर्न अनुरोध गर्नुभयो। मन्त्री पुनले सरकारले जलविद्युत्को क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युत्मा क्षेत्रमा ढुक्क भएर लगानी गर्न अनुरोध गर्नुभयो। 'जलविद्युत् क्षेत्रमा लचिलो खालको नीति लिएका छौं। पहिलो १० वर्षमा आयकर समेत छुटको व्यवस्था गरिएको छ,' मन्त्री पुनले भन्नुभयो, 'नेपालमा विद्युत्को खपत बढ्नुका साथै छिमेकी मुलुकमा पनि बजारीकरणको काम भइरहेको ढुक्क भएर लगानी गरे हुन्छ।' भारत र बंगलादेशमा विद्युत् व्यापारको लागि ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाइ छ। युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाले आफू पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सम्झौता कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु