फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबार काठमाडौंमा हुँदै

(GMT+08:00) 2019-11-26 14:20:15

नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबार काठमाडौंमा सुरु हुँदैछ। सन्धिको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई बैठकले अन्तिम रूप दिने बैठकमा नेपाली टोलीको नेतृत्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो।

यसअघि भारतले सहमति जनाएको जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रूप दिने सहसचिव ढकालले बताउनुभयो। हल्दिया–साहिबगन्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगबारे पनि बैठकमा छलफल हुनेछ।

यस्तै, विशाखापट्टनमबाट जोगबनी (विराटनगर) रक्सौल (वीरगन्ज) र सुनवल (भैरहवा)सम्मका ब्लक कार्गो ढुवानीसम्बन्धमा पनि बैठकमा छलफल हुनेछ। यस्तै विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईटीएस) सम्बन्धमा पारवहन सन्धिमा आवश्यक व्यवस्था गर्ने विषयमा पनि बैठकले अन्तिम रूप दिने सहसचिव ढकालले जानकारी दिनुभयो।

झण्डै १० सदस्यीय नेपाली टोलीमा वाणिज्य सहसचिव ढकालसहित यातायात, परराष्ट्र, कानुन मन्त्रालयका सहसचिव पनि सहभागी हुनेछ। उस्तै संख्यामा भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र सिंह भल्लाले गर्नेछन्। बैठकको पहिलो सत्र बिहान १० बजे सुरु हुने सहसचिव ढकालले जानकारी दिनुभएको अनलाइनखबरमा समाचार छ।

जानकारी तथा लेखहरु