फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन छिटै अघि बढाउने निर्णय

(GMT+08:00) 2019-11-27 13:22:15
नेपाल-चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ताले काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन सहमतिका आधारमा छिटै अघि बढाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलरबार भएको वार्तामा चिनियाँ टोलीले काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवदेन पनि नेपाली पक्षलाई हस्तान्तरण गरेको रेल विभागका महानिर्देशक बलराम मिश्राले जानकारी दिनुभयो।

असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। 'चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा भएको सहमतिलाई कार्यान्वयन गर्ने सहमति भयो। चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको अध्ययन हुनेछ', मिश्राले भन्नुभयो, 'अध्ययनका लागि नेपाली पक्षबाट आवश्यक चीनले माग गरेको छ।'

नेपाल र चीनको सहकार्यमा संयुक्त रूपमा सम्भाव्यता अध्ययन अघि बढाइनेछ। चीनले रेलमार्ग निर्माण हुने क्षेत्रको नक्सा, जनसंख्या, घरटहरा, वातावरणीय प्रभाव मूल्यांकन, निकुञ्ज र जंगलको विवरण माग गरेको छ। नेपाली पक्षले अध्ययनका लागि आवश्यक विवरण उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ। वार्ताका लागि चीनको नेसनल रेल्वे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटरको नेतृत्वको २३ सदस्य टोली सोमबार नेपालमा थियो। चिनियाँ टोली बुधबार काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको स्थलगत अनुगमनमा जाने कार्यक्रम रहेको विभागले जानकारी दिएको अन्नपूर्णपोस्टले लेखेको छ।

जानकारी तथा लेखहरु