फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अति संवेदनशील विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर

(GMT+08:00) 2019-11-28 13:56:03

अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ। विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ।

नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गर्न शुरुआत गरेसँगै इमल्सन उत्पादनमा नेपाल आत्मनिर्भर हुने ढोका खुला भएको हो।

सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्रमुख प्राविधिक उपरथी अजितवरसिंह थापाले सुनचरीमा थप नयाँ इमल्सन प्लान्ट स्थापना भएको र यसले उत्पादनसमेत शुरुआत गरेको जानकारी दिनुभयो। अब देशका लागि आवश्यक पर्ने विष्फोटन पदार्थ सोही प्लान्टले पूरा गर्ने विश्वास लिइएको छ। रु ५० करोडको लागतमा स्थापना भएको सो प्लान्टले दुई/चार सय मेट्रिक टन इमल्सन उत्पादन गरिसकेको नेपाली सेनाको मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँले बताउनुभयो।

देशसंचार अनलाइनका अनुसार गत आवमा सो नयाँ र पुरानो गरी प्लान्टबाट विभिन्न जलविद्युत, सडक आयोजनाका लागि आवश्यक विष्फोटन पदार्थसहित ७९ मेट्रिक टन बिक्री वितरण भएको कार्यक्रममा जानकारी दिइयो।

चीन र भारतबाट आयात गरिने इमल्सनको प्रतिकेजी रु १९० भन्दा माथि पुग्दैन। तर सो प्लान्टमा उत्पादन भएको इमल्सनको प्रतिकेजी रु १९८ मा बिक्री वितरण गरिएको सेनाले जनाएको छ। उत्पादन लागतको ७७ प्रतिशत कच्चा पदार्थ आयातमा खर्च गर्नुपरेकाले उत्पादन लागत बढेको कार्यक्रममा प्रस्तुति गरिएको थियो।

विसं २०६० मा स्थापना भएको पुरानो प्लान्टबाट हाल वार्षिक एक हजार २०० मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो। यो उत्पादन 'सिङ्गलबेस प्रोपेलेन्ट प्लान्ट' बाट मात्र हो। प्लान्टको उत्पादन क्षमतामा वृद्धि गर्न नयाँ 'डबलबेस प्रोपेलेन्ट प्लान्ट' स्थापना पूरा भएपछि विष्फोटन पदार्थको आवश्यकको माग पूरा भएको कार्यक्रममा जानकारी दिइयो। हाल नेपालमा पाँच हजार मेट्रिक टन विष्फोटन पदार्थ आवश्यक पर्ने एक अध्ययनले देखाएको छ।

नेपाली सेनाका इञ्जिनीयरिङ विभागका प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहका अनुसार विष्फोटन पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो। यसलाई 'सिभिल एक्सप्लोसिभ' पनि भनिन्छ। सेनाले आफूले जिम्मा लिएका कठिन सडक निर्माणमा चट्टान फोर्न विष्फोटन पदार्थको पनि सहायता लिँदै आएको छ।

सेनाले हालसम्म २७ सडक निर्माणका आयोजनामार्फत एक हजार ६६ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ। हाल राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश जोड्ने द्रुतमार्गसहित अन्य पाँच आयोजना गरी कूल ५३६ किलोमिटर सडक निर्माण तीव्रगतिमा अगाडि बढाइरहेको छ।

जानकारी तथा लेखहरु