फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालबाट साढे पाँच अर्ब रुपियाँको हस्तकला सामान निकासी

(GMT+08:00) 2019-11-29 14:28:23

नेपाल हस्तकला महासङ्घद्वारा आयोजित मङ्सिर १६ गतेसम्म सञ्चालन हुने १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको बिहीबार मङ्सिर १२ गतेबाट भृकुटी मण्डपमा सुरू भएको छ। उक्त मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकला व्यवसायीलाई सरकारले दिँदै आएको सहुलियतपूर्ण ब्याजको ऋण उपयोग गरेर निर्यात बढाउन आह्वान गर्नुभएको छ।

मन्त्री खतिवडाले हस्तकलाको निर्यात त्यति ठूलो हुन नसकिरहेको र अदृश्य निर्यातलाई अध्ययन गरिरहेको बताउँदै उत्पादन बिक्री तथा निर्यातको व्यवस्थित रेकर्ड बनाउँदै निर्यात बढाउने लक्ष्य बनाउन आह्वान गर्नुभएको छ। हस्तकलालाई प्रतिस्पर्धी बनाएर कलाको जर्गेना गरी व्यापारीकरणमार्फत लाभ लिन अन्तर्राष्ट्रिय बजारमा जानुपर्ने मन्त्री खतिवडाको भनाइ छ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले गत वर्ष नेपालबाट साढे पाँच अर्ब रुपियाँको हस्तकला सामान निकासी भएको बताउनुभयो। वार्षिक १३ अर्ब रुपियाँको कारोबार हस्तकलाको क्षेत्रमा भएको र वार्षिक ११ लाख जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको उहाँको भनाइ छ।

कार्यक्रममा मेलाका संयोजक धर्मराज शाक्यले उद्यमी कालिगढबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र हस्तकलाको प्रवर्द्धन गर्न हरेक वर्ष मेला आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार मेलामा सातवटा प्याभिलियनसहित दुई सयवटा स्टल रहेका छन्। उत्कृष्ट प्याभिलियनलाई एक लाख र उत्कृष्ट स्टललाई २५ हजार पुरस्कार प्रदान गरिने गोरखापत्र अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु