फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

९२ प्रतिशत नागरिकलाई खानेपानीको आधारभूत सेवा उपलब्ध गराईने 

(GMT+08:00) 2019-11-29 14:31:10
खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६-०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे पहिलो चौमासिक प्रगति विवरण प्रस्तुत गरेको छ। बिहीबार बसेको पहिलो चौमासिक समीक्षा बैठकमा मन्त्रालयले देशभरी नै आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित हुने जनसंख्या यही आर्थिक वर्षभित्र ९२ प्रतिशत पुग्ने गरी काम अगाडि बढाइएको जानकारी दिएको छ। उच्च मध्यमस्तरको खानेपानी सेवाबाट अहिलेसम्म २१ प्रतिशत जनसंख्या लाभान्वित भएकोमा यो संख्या बढेर २५ प्रतिशत पुग्ने मन्त्रालयको भनाइ रहेको कारोबार दैनिकले लेखेको छ।

बैठकमा मन्त्री बिना मगरले मन्त्रालयले निर्धारण गरी तोकिएका न्यूनतम लक्ष्यहरु हासिल गर्ने दिशामा भन्दा पनि द्रुत गतिमा जनताले महसुस गर्ने गरी उपलब्धि हासिल गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छिन्। जनताको आधारभूत आवश्यकता पूरा गर्ने गरी काम रफ्तारमा अघि बढाउन उनले सबै प्रमुखहरुलाई निर्देशन दिएकी छिन्। उनले खानेपानी र सरसफाई जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दीगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने बताइन्। आयोजना अगाडि बढाउने सवालमा खानेपानीको क्षेत्रमा धेरै समस्या रहेको भन्दै उनले सामाजिक समस्या र जनशक्तिको अभाव रहेको स्पष्ट पारिन्।

समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पुँजीगत खर्च बढाउने गरी आयोजनाका कामहरु द्रुत गतिमा अघि बढाउन आग्रह गरे। सदस्य डा. गुरुङले पन्ध्रौं योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अझ बढी केन्द्रित रहन सुझाव दिएका छन्। निर्माणाधीन मात्रै नभइ सम्पन्न भइसकेका आयोजनाहरुको अवस्था के कस्तो छ भनेर ध्यान दिन उनले आग्रह गरे। नेपाल खुला दिसामुक्त देश घोषणा भइसकेकाले अब पूर्ण सरसफाइ कार्यक्रमअन्तर्गत देशैभरी सार्वजनिक शौचालयहरु निर्माण गर्ने गरी कार्य अघि बढाउनुपर्ने डा. गुरुङले जोड दिए।

मन्त्रालयका सचिव माधव बेल्बासेले देशैभरीको खानेपानीको समस्या समाधान गर्न आयोजनाहरु अघि बढेपनि जनशक्तिको ठूलो अभावले समस्या आइरहेको बताए। सचिव बेल्बासेले खानेपानीको क्षेत्रमा प्राविधिक जनशक्तिको अभावले आयोजनाहरुको काममा ढिलाइ भइरहेको समस्या औंल्याए। उनले मेलम्ची खानेपानी आयोजनाको काममा काम गर्ने वातावरण बनाइरहन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।

समीक्षा बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७६-०७७ को पहिलो चौमासिक अवधिमा भौतिक प्रगति ७६ र वित्तीय प्रगति २० प्रतिशत रहेको जानकारी विभागका महानिर्देशक सुनिलकुमार दासले दिए। खानेपानी विभागअन्तर्गत रहेका खानेपानी तथा सरसफाइ सह–लगानी कार्यक्रम आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत रहेको जानकारी महानिर्देशक दासले दिए।

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले देशभरी नै आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित हुने जनसंख्या यही आर्थिक वर्षभित्र ९२ प्रतिशत पुग्ने जानकारी दिनुभयो। पहिलो चौमासिक अवधिमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको जानकारी गराएको छ।

जानकारी तथा लेखहरु