फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढी हुँदै १९ अर्बको सामान आयात

(GMT+08:00) 2019-11-30 14:15:34

रसुवागढी नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार मूल्य बराबरको सामान आयात भएको छ। निर्याततर्फ भने ४८ करोड १७ लाख ४६ हजार मूल्य बराबरको सामान रहेको कान्तिपुर अनलाइनले लेखेको छ। रसुवागढी नाकाबाट बर्षेनि सामान आयात हुने क्रम बढ्दै गएको रसुवा भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आवको सोही अवधिमा १३ अर्ब ५६ करोड ७५ लाख ८७ हजार मूल्य बराबरको सामान आयात भएको थियो। निर्याततर्फ भने ४७ करोड ११ लाख ५५ हजार मूल्य बराबरको सामान रहेको छ। चालु आवको पहिलो चौमासिक र अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा ५ अर्बभन्दा बढीले सामान आयातमा वृद्धि भएको छ। निर्याततर्फ पनि करिब एक करोडले वृद्धि भएको छ। तर, आयातको तुलनामा निर्यात भने निकै कम रहेको छ।

अहिले चिनियाँ पक्षले नेपाली खाद्य सामग्रीको निर्यातमा अवरोध सिर्जना गरेको छ। लेबलिङमा भाषाको समस्या देखाउँदै चिनियाँ पक्षले नेपाली खाद्य वस्तु निर्यातमा रोक लगाएको व्यापारीहरूले बताए। नेपालबाट चीनतर्फ खाद्य सामग्रीमा चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, चकलेट चुइगमलगायत वस्तु निर्यात हुँदै आएको थियो। सामान आयात बढेसँगै राजस्व संकलनमा पनि वृद्धि भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, 'कार्यालयले पहिलो चौमासिकमा ५ अर्ब ५० करोड १२ लाख ५६ हजार राजस्व संकलन गरिसकेको छ।' भन्सार विभागले आव ०७६/०७७ का लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्क ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ। नाकामा दिन प्रतिदिन व्यावसायी गतिविधि बढ्दै गएको छ। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका यही नै हो। चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ। रसुवागढी नाकाबाट सबैभन्दा धेरै आयात हुने वस्तुमा तयारी पोसाक रहेको छ। पछिल्लो समय यही नाका हुँदै विभिन्न मेसिनरी औजार, निर्माणका सामान, सिरक, कम्बल, टेलिकम र विभिन्न जलविद्युत् आयोजनाका सामान पनि आयात भइरहेको छ।

रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो। २०१३ सालमै नाकामा भन्सार कार्यालय स्थापना भएको थियो।

जानकारी तथा लेखहरु