फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको

(GMT+08:00) 2019-12-01 14:01:24

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा बढ्दो आयात र कमजोर निर्यातका कारण सबैभन्दा ठूलो समस्या बनेको व्यापार घाटा पछिल्लो समय भने बदलिएको छ। नेपालले व्यापार घाटा बेहोर्नुपरे तापनि यसको नियमित प्रवृत्ति भने खुम्चिँदै गएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष चार महिनासम्मको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्कअनुसार व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ। कात्तिकसम्मको उक्त तथ्याङ्कअनुसार व्यापार घाटा ८.९० प्रतिशतले घटेको छ। अर्थात् अघिल्लो कात्तिकमा चार खर्ब ५४ अर्ब रुपियाँ व्यापार घाटा बेहोर्नु परेकोमा समीक्षा अवधिमा करिब ४० अर्ब रुपियाँले घटेर चार खर्ब १४ अर्ब रुपियाँ पुगेको छ।

घट्दो आयात र बढ्दो निर्यातले व्यापार घाटाको यो प्रवृत्तिमा परिवर्तन गरेको देखिएको छ। साथै चालू आर्थिक वर्षको पहिलो महिनादेखि अघिल्लो वर्षभन्दा निर्यात बढेको र आयात घटिरहेको तथ्याङ्कले देखाएको गोरखापत्र अनलाइनले लेखेको छ। व्यापार घाटा पनि साउनदेखि नै घटेको तथ्याङ्कमा उल्लेख छ।

विभागका अनुसार अघिल्लो कात्तिकसम्म चार खर्ब ८३ अर्ब रुपियाँको आयात भएकोमा अहिले ६.९२ प्रतिशतले घटेर चार खर्ब ५० अर्ब घटेको छ। अर्थात् तुलनात्मक रूपमा आयात ३३ अर्बले घटेको देखिन्छ। निर्यातको वृद्धिदर भने उत्साहजनक देखिन्छ। २९ अर्ब २८ करोड रुपियाँको अघिल्लो वर्षको निर्यात २३.९० प्रतिशतले बढेर ३६ अर्ब २७ करोड रुपियाँ पुगेको छ। निर्यातको वृद्धिदरले समग्र व्यापारमा यसको हिस्सा बढेर ७.५ प्रतिशत पुगेको छ। अघिल्लो कात्तिकमा कुल व्यापारमा ९४.३ प्रतिशत आयातको हिस्सा रहेकोमा अहिले घटेर ९२.५ प्रतिशत पुगेको छ। चार महिनासम्म नेपालको कुल अन्तर्राष्ट्रिय आयात चार खर्ब ८६ अर्ब रुपियाँ पुगेको छ।

वस्तुगत हिसाबले समीक्षा अवधिसम्म सबैभन्दा धेरै २९ अर्ब २४ करोड रुपियाँको डिजेल आयात भएको छ। त्यसपछि १२ अर्ब ७० करोडको स्टिल, १२ अर्ब ३७ करोडको पेट्रोल, आठ अर्ब ९० करोडको एलपी ग्यास र आठ अर्ब ६२ करोडको मोबाइल आयात भएको छ। पाम तेलको आयात सात अर्ब ४९ करोड रुपियाँ पुगेको छ। बढी आयात हुने वस्तुको छैटौँ स्थानमा परेको पाम तेल नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा भने पहिलो स्थानमा छ। कात्तिकसम्म आठ अर्ब ३६ करोड रुपियाँको पाम तेल निर्यात भएको छ। त्यसपछि दुई अर्बको सोयाबिन तेल, एक अर्ब ३९ करोडको गलैँचा, एक अर्ब पाँच करोडको तयारी कपडा र एक अर्ब तीन करोडको कालो चिया निर्यात भएको छ।

व्यापार साझेदार देशमा सबैभन्दा धेरै सधैँजस्तै भारत नै सबैभन्दा अगाडि छ। भारतबाट नेपालले दुई खर्ब ७२ अर्ब रुपियाँको आयात गर्दा २४ अर्ब २६ करोड रुपियाँको निर्यात भएको छ। ८० अर्ब १८ करोडको आयात भएकोमा चीनमा ७१ करोड रुपियाँको मात्र निर्यात भएको छ। इन्डोनेसियाबाट नेपालले १३ अर्ब ५८ करोड रुपियाँको आयात गरेकोमा ११ करोड ७६ लाख रुपियाँ निर्यात भएको छ। संयुक्त राज्य अमेरिकाबाट नेपालले छ अर्ब २९ करोड रुपियाँको आयात गर्दा तीन अर्ब ८६ करोड रुपियाँको निर्यात गरेको छ।

जानकारी तथा लेखहरु