फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीद्वारा मेलम्ची खानेपानीको काम तीब्र गतिमा

(GMT+08:00) 2019-12-02 14:01:34

इटालीयन कम्पनी सीएमसीले एकतर्फी रूपमा ठेक्का तोडेको घोषणा गरेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको काम करिब एक वर्षपछि पुन: सुरु भएको छ। नयाँ ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवर्क्स निर्माण गरिरहेको हो। आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले १५ महिनाभित्र सम्पन्न हुने गरी काम अघि बढेको जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

'ठेकेदार र आयोजनाका कर्मचारी चौबीसै घन्टा निर्माणस्थलमा खटिएका छन्,' उहाँले भन्नुभयो, 'सुरुङ १२ महिनाभित्र र हेडवर्क्सको काम १५ महिनाभित्र सकिन्छ।'

सीएससीले गत वर्ष पुसमा ठेक्का सम्झौता तोडेपछि सरकारले फास्ट ट्र्याकबाट काम अघि बढाउने निर्णय गरेको थियो। ठेक्का सम्झौताअनुसार सिनो हाइड्रोले ८५ करोड १ लाख लागतमा सुरुङ र १ अर्ब २ करोड ८२ लाखमा हेडवर्क्स निर्माण गर्नेछ। २६ किमि सुरुङ खन्ने काम सकिएको छ भने त्यसमध्येको ५ किलोमिटरमा आरसीसी ढलान हुँदै छ। गत असोजमा सिनो र आयोजनाबीच सम्झौता भएको थियो। खानेपानी तथा सरसफाइ मन्त्रालयले करिब ९३ प्रतिशत काम सकिएको दाबी गरे पनि ससाना काम धेरै बाँकी छन्। टनेल अडिट मार्ग तथा इचोक, थकनी र शिवपुरीमा भेन्टिलेटर, सुरुङभित्र प्लास्टर र ओपन कट इन्टेक निर्माण अघि बढिसकेको खत्रीले बताउनुभयो। डाइभर्सन टनेल, अस्थायी बाँध (कभर बाँध) निर्माण, स्थायी बाँध र इन्टेक संरचनासमेत निर्माण हुन बाँकी छ। अम्बानथानमा हेडवर्क्स जोड्ने पक्की पुलसमेत बनेको छैन। अस्थायी बाँध निर्माण गरेर भए पनि १२ महिनाभित्र सुन्दरीजलमा पानी ल्याउने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ।

खत्रीका अनुसार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र ९ वटा पानीपोखरी निर्माण भइसकेका छन्। 'समानान्तर हिसाबले घरघरमा पानी पुर्‍याउँछौं,' उहाँले भन्नुभयो, 'त्यही किसिमले प्रत्येक संरचना निर्माण भइरहेका छन्।' पाइप परीक्षणलगायत सरसफाइ काम पनि भइरहेको उहाँले बताउनुभयो। सुन्दरीजलमा साढे ८ करोड लिटर क्षमताको पानीपोखरी पनि निर्माण भइसकेको भने यहीँ अर्को पानी प्रशोधन केन्द्र निर्माण भइरहेको उहाँले जनाकारी गराउनुभयो।

मेलम्चीबाट आउने खानेपानी वितरणका लागि ७० हजारभन्दा बढी धारा जडान भइसकेका छन्। 'थोरै धारा निर्माण गरिसक्न बाँकी छ, ती पनि निर्माणको चरणमा छन्,' आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले भन्नुभयो, 'सुन्दरीजलमा पानी आइपुग्नेबित्तिकै खास समस्या छैन, पाइप र धाराको परीक्षण भइरहेको छ।' केही दिनअघि अनामनगर क्षेत्रको ५ सय ९० भन्दा बढी घरधुरीमा धाराको परीक्षण गरिएको खानेपानी आयोजना निर्देशनालयका प्रमुख भोजविक्रम थापाले जानकारी दिनुभयो।

राष्ट्रिय गौरवअन्तर्गतको मेलम्ची खानेपानी आयोजनामा हालसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। दोस्रो चरणको याङ्ग्री र लार्केको मुआब्जा वितरणको काम भइरहेको छ। याङ्ग्री र लार्केबाट ३४ करोड लिटर पानी मेलम्चीमा थपिनेछ। त्यसपछि मेलम्ची, याङ्ग्री र लार्केबाट ल्याइने ५१ करोड लिटर पानी दैनिक उपत्यकामा वितरण गरिनेछ। एसियाली विकास बैंकको ऋण सहयोगमा ०५८ सालमा उक्त आयोजना सुरु भएको हो। ०६५ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भनिए पनि समय सीमाभित्र काम सम्पन्न नहुँदा आयोजनाको लागत ४२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु