फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा मौसमबारे पूर्वसूचना दिने अहिलेसम्मकै अत्याधुनिक राडार जडान

(GMT+08:00) 2019-12-03 13:57:20

नेपालको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडारको आज डिसेम्बर ३ तारिख मंगलबार उद्घाटन गरिएको छ। मौसम विभागकी प्रवक्ता अर्चना श्रेष्ठका अनुसार नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको राडार मौसमको पूर्व सूचना दिने अहिलेसम्मकै आधुनिक प्रविधि रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको राडारको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार बिहान आयोजित समारोहका बीच उद्घाटन गर्नु भएको हो। मन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडार उद्वाटनको तस्बिर सेयर गर्दै भन्नु भएको छ, 'नेपालमा पहिलोटक प्रयोगमा ल्याइएको यो राडार मौसमको पूर्व सूचना दिने अहिलेसम्मै आधुनिक प्रविधि हो।'

राडारबाट मौसमसम्बन्धी समयमै सही सूचना सहज रुपमा प्राप्त हुने र यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप- बाढी, पहिरो आदि घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।

मंगलबार बिहान मौसम विभागकी प्रवक्ता श्रेष्ठले भन्नुभयो, 'यसले पानी पर्छ कि पर्दैन परेमा कति ठूलो पर्छ, असिना पर्छ कि पर्दैन, हुरीबतास, चक्रवात् आउँछ कि आउँदै भन्ने कुराको पहिल्यै जानकारी दिन्छ।'

उहाँका अनुसार हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडारबाट वास्तविक सूचना पाउन सकिनेछ। 'तर यो नेपालमा पहिलोपटक भित्र्याइएको प्रविधि हो,' प्रवक्ता श्रेष्ठले भन्नुभयो, 'त्यसैले यसलाई पूर्ण प्रयोगमा ल्याउने अझै थुप्रै अनुसन्धान र अभ्यास आवश्यक छ।'

विभागकी प्रवक्ता श्रेष्ठका अनुसार राडारले आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बिर खिच्छ। पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भूभागमा वास्तविक समयमा तस्बिर खिचेर पठाउँछ। त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ? पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ।

प्रवक्ता श्रेष्ठका अनुसार राडारले वास्तविक अनुमान गर्छ। यसले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ। उदाहरणका लागि कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन्। असिना पर्ने बादल हो कि त्यो सूचना दिन्छ। त्यसका आधारमा मौसम विभागले केही घण्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ।

यो जाडो मौसममा हिउँ कति पर्छ, हुस्सु, शीतलहरको अवस्था कस्तो छ भन्ने जानकारी यस राडारले दिने उहाँले बताउनुभयो।

विभागकी प्रवक्ता श्रेष्ठका अनुसार सुर्खेतमा राखिएको राडार नेपालको पश्चिमी क्षेत्रको मौसमी जानकारी पाउनाका लागि हो। यसैगरी मध्य क्षेत्रका लागि पाल्पा तथा पूर्वी क्षेत्रका लागि उदयपुरमा पनि मौसमी राडार राख्ने तयारी भइरहेको छ। 'अहिले सुर्खेतमा राखिएको राडारले नेपालको पश्चिमी क्षेत्रको मौसमी अवस्था मात्रै समेट्न सक्छ,' उहाँले भन्नुभयो, 'पाल्पा र उदयपुरमा राखिएपछि पूरै नेपालको मौसमी जानकारी कभर गर्न सकिन्छ।'

त्यसका लागि अहिले सामान ल्याउने क्रम चलिरहेको उहाँले जानकारी दिनुभयो। 'यो अलि महँगो खालको प्रविधि, भौतिक पूर्वाधारहरू पनि तयारी गर्नुपर्ने हुन्छ,' उहाँले भन्नुभयो, 'तीनवटै क्षेत्रमा राडार सञ्चालन गर्न अझै लाग्ला- १ वर्षजति।'

अहिलेसम्म करिब ६० करोड खर्च भइसकेको उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु