फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भेरी–बबई डाइभर्सन बुहउद्देश्यीय आयोजना दोस्रो चरणमा

(GMT+08:00) 2019-12-03 14:02:23

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम औपचारिक रूपमा सुरु भएको छ। ऊर्जामन्त्री वर्षमान पुनले सोमबार सुर्खेतको चिप्लेस्थित बाँध निर्माणस्थलमा सिभिल निर्माणको शिलान्यास गर्नु भएपछि दोस्रो चरणको काम सुरु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

चिनियाँ कम्पनी ग्वाङडङ युन्टिनले नेपाली कम्पनी रमन जेभी सँग मिलेर ६ अर्ब १६ करोडमा सिभिल निर्माणको जिम्मा लिएको छ। कम्पनीले ४ वर्षभित्र काम सक्ने गरी अगस्त २०१९ मा सरकारसँग सम्झौता गरेको थियो। आयोजना निर्देशक सञ्जीव बरालले कुनै व्यवधान नभए समयमै काम सम्पन्न हुने बताउनुभयो। उहाँका अनुसार सरासर काम भएमा आयोजनाबाट आर्थिक वर्ष २०७९/८० सम्म विद्युत् उत्पादन सुरु हुनेछ। 'सानातिना झमेला त आइरहन्छन् तर यसले आयोजनाको गतिलाई रोक्ने छैन,' उहाँले भन्नुभयो, 'मुआब्जालगायत समस्या समाधानका लागि पनि स्थानीय तह र जनतासँग छलफल गरिरहेका छौं।'

२०७५ पुस १० गते स्वीकृत संशोधित गुरुयोजनाअनुसार आयोजनाको अनुमानित लागत ३३ अर्ब १९ करोड रुपैयाँ रहेको छ। सबैभन्दा बढी (४० प्रतिशत बजेट) काम सिभिल निर्माणअन्तर्गत रहेको छ। यसअन्तर्गत हेडवर्क्स, सर्ज साफ्ट र पावर हाउस निर्माणको काम हुनेछ। निर्माण जिम्मा पाएको कम्पनीका कार्यकारी निर्देशक रमण महतोले सरकारसँग चारवर्षे सम्झौता गरे पनि आन्तरिक रूपमा तीन वर्षभित्रै सम्पन्न गर्ने गरी कार्ययोजना बनाइएको बताउनुभयो। अहिले दैनिक करिब १५० जना दक्ष तथा अदक्ष जनशक्तिले काम गरिरहेका छन्। तीमध्ये तीन जना चिनियाँ साझेदार कम्पनीका प्राविधिक रहेका उहाँले बताउनुभयो। उहाँका अनुसार बाँध निर्माणस्थलमा पानीको बहाव बढी हुनुका साथै करिब ३० मिटर गहिराइमा चट्टान छ। 'हामीसँग काम गर्नका लागि चुनौती त थुप्रै छन्,' उहाँले भन्नुभयो, 'तैपनि विदेशी प्रविधि र अनुभवी जनशक्ति प्रयोग गरी समयमै सम्पन्न गर्ने कार्ययोजना बनाएका छौं।' बर्खाको समय (जुनदेखि अक्टोबरसम्म) मा काम गर्न नसकिने भएकाले उक्त समयमा अन्य काम गर्ने गरी कार्ययोजना बनाइएको उहाँले बताउनुभयो।

चिनियाँ र नेपाली कम्पनीको साझेदारी रहेको सिभिल निर्माणको काममा भारतीय विज्ञ पनि सामेल छन्। यिनीहरूले योजना निर्माण र विकास कार्यमा सघाउने महतोले बताउनुभयो। यसका साथै बाँध निर्माणमा जर्मन कम्पनीका 'बुम पम्प' प्रयोग हुनेछन्। 'राष्ट्रिय गौरवको यो आयोजना पाउनु हाम्रा लागि पनि गौरवको विषय हो,' उहाँले भन्नुभयो, 'त्यसैले स्वदेशी तथा विदेशी स्रोतसाधन प्रयोग गरेर समयमै काम सक्ने लक्ष्य राखेका छौं।'

दोस्रो चरणको कामको शिलान्यास गर्दै ऊर्जामन्त्री पुनले आयोजनाबाट सबैभन्दा बढी लाभ स्थानीय जनताले पाउने भएकाले कुनैखाले अवरोध नगर्न आग्रह गर्नुभयो। सुकुम्बासीको व्यवस्थापन र मुआब्जाको विषयमा पनि सरकारले उचित ढंगले सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो। कार्यक्रममा स्थानीय भेरी–बबई डाइभर्सन जनहित समितिको तर्फबाट भेरीगंगा नगरपालिकाका नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले मन्त्री पुनलाई २३ बुँदे मागपत्र बुझाउनुभयो।

मागपत्रमा प्रभावित क्षेत्र र भेरी नदीको पानीको स्रोत क्षेत्रका जनताको घरघरमा विद्युत् पुर्‍याउनुका साथै हरेक घरधुरीलाई नि:शुल्क सेयर उपलब्ध गराइनुपर्ने, स्रोत क्षेत्रका जनताको आर्थिक उन्नति, विकास निर्माण र रोजगारी कार्य सञ्चालनका लागि आयोजनाको विद्युत्बाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत रकम छुट्याउने ग्यारेन्टी गरिनुपर्ने, सेतो पुर्जा पाएका र ऐलानी जमिन उपभोग गरिरहेका जनतालाई पनि समान रूपमा मुआब्जाको व्यवस्था गरिनुपर्ने लगायत माग राखिएका छन्।

जानकारी तथा लेखहरु