फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माथिल्लो त्रिशूली ३ 'बी'को प्रगति ४० प्रतिशत

(GMT+08:00) 2019-12-05 14:12:34

रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सकिएको छ। आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनीका अनुसार आयोजनाको तीन हजार आठ सय पाँच मिटर मुख्य सुरुङ(हेडरेस टनेल)मध्ये १४ सय मिटर खनिसकेको छ। कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले मुख्य सुरुङ खन्ने काम चार ठाउँबाट भइरहेको बताउनुभएको नागरिक अनलाइनले लेखेको छ।

यो आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी ) मोडेलमाअघि बढाइएको हो। चिनियाँ ठेकेदार कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २०७४ माघ २९ मा तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर (तत्कालीन विनिमय दर अनुसार एक अर्ब ९१ करोड ४६ लाख रुपैयाँ) मा ठेक्का सम्झौता गरिएको थियो। यो आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान लगायत सम्पूर्ण काम सिचुआनले नै गर्नेछ।

'ठेकेदार कम्पनीले अहिलेको गतिभन्दा केही अझै बढाएको खण्डमा निर्धारित समयभित्रै निर्माणसम्पन्न हुनेछ,' उहाँले भन्नुभयो, 'आयोजनाले ठेकेदार कम्पनीलाई तोकिएको समयभित्रै निर्माण सम्पन्न गराउन घच्घच्याइरहेको छ।' २०७४ फागुन मसान्तमा आयोजनाको निर्माण सुरु भएको थियो। ३७ मेगावाट क्षमताको यो आयोजना तीन वर्षभित्रै(२०७७ फागुन २९ भित्र) निर्माण सम्पन्न गर्ने लक्ष्य छ। प्रबन्ध सञ्चालक गौतम आयोजनाको हालसम्मको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति २० प्रतिशत भएको बताउनुहुन्छ। 'अहिले विद्युत्गृह, सर्ज ट्यांक, हेडपौन्ड लगायतनिर्माणको काम भइरहेको छ,' उहाँले भन्नुभयो, 'ठेकेदार कम्पनीले हाइड्रोमेकानिकल र टर्बाइन, रनर, जेनरेटर लगायत इलेक्ट्रोमेकानिकल उपकरणको उत्पादन प्रक्रिया थालिसकेको छ।'

प्राधिकरणले भर्खरै निर्माण सम्पन्न गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ए को क्यास्केड आयोजना भएकाले पनि यसले बाँध, डिसेन्डर जस्ता संरचना बनाउनुपर्दैन।

प्रबन्ध सञ्चालक गौतमले पर्याप्त मात्रामा विस्फोटक पदार्थ नहुँदा सुरुङ खन्न केही समस्या आएको बताउनुभयो। 'विस्फोटक पदार्थ खरिद गर्नधेरै सरकारी निकायसँग समन्वय गर्नुपर्ने बाध्यता छ,' उहाँले भन्नुभयो। आयोजनाका अनुसार विस्फोटक पदार्थ खरिदको लागि सुरुमा विद्युत् विकास विभाग, त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय हुँदै नेपाली सेना वा विदेशी मुलुकसँग समन्वय गर्नुपर्ने आवश्यकता छ। जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत निर्माणाधीन यो आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत सेयर छ। सर्वसाधारण जनताको १५ प्रतिशत, रसुवा र नुवाकोटका स्थानीयको १० प्रतिशत, रसुवा र नुवाकोटका स्थानीय तहमा रहेका वित्तीय सस्थाको पाँचप्रतिशत, दुवै जिल्लाका स्थानीय तहको पाँच प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर लगानी हुनेछ।

'रन अफ द रिभर' प्रकृतिको यो आयोजनाबाट सुक्खायाममा १३४.८८ गिगावाट आवर बिजुली उत्पादन हुनेछ। बर्खामा १५७.७७ गिगावाट आवर बिजुली उत्पादन हुने प्रवद्र्धक कम्पनीले जनाएको छ। 'यो आयोजनाको सुन्दर पक्ष भनेको नै वर्षको आठ महिना पूर्ण क्षमतामा (३७ मेगावाट) बिजुली उत्पादन गर्न सक्छ,' प्रबन्ध सञ्चालक गौतमले भन्नुभयो, 'सुक्खायाममा पनि कम्तीमा २५ मेगावाट उत्पादन गर्न सकिन्छ।'

यसबाट उत्पादित बिजुली तीन किलोमिटर प्रसारण लाइन निर्माण गरी त्रिशूली ३ बी हब सबस्टेसनमा जडान गरेर राष्ट्रिय ग्रिडमा पठाइनेछ। उक्त प्रसारणलाइन निर्माणमा प्राधिकरणले ४५ प्रतिशत र आयोजनाले ५५ प्रतिशत खर्च बेहोर्ने सर्त छ।आयोजनाको कुल लागत ब्याजसहित आठ अर्ब २२ करोड ७४ लाखभन्दा थोरै बढी हुने अनुमान छ। यो आयोजनामा प्रधानमन्त्री केपी शर्माओली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पनि २०–२० कित्ता सेयर छ।

जानकारी तथा लेखहरु