फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीनमैत्री औद्योगिक पार्कको डिपिआरका लागि 'इन्सेप्सन रिपोर्ट' तयार हुँदै

(GMT+08:00) 2019-12-06 13:56:30

झापाको दमकमा बनाइने नेपाल–चीनमैत्री औद्योगिक पार्कको डिपिआर निर्माण गर्न 'इन्सेप्सन रिपोर्ट' तयार भइरहेको छ। परियोजनाको निर्माणकर्ता दमक क्लिन इन्डस्ट्रियल पार्क (डिसिआइपी) प्रालिले डिपिआर तयार गर्नुपूर्व आयोजनामा विकास गरिने भौतिक पूर्वाधारलगायत सर्तहरूलाई समेटेर उक्त रिपोर्ट तयार पार्न लागेको हो। इन्सेप्सन रिपोर्टकै आधारमा परियोजनाको डिपिआर निर्माणको काम सुरु हुने लगानी बोर्डका प्रवक्ता बलराम रिज्यालले बताउनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

करिब २ हजार १ सय बिघा क्षेत्रमा निर्माण गरिने उक्त पार्कको पहिलो चरणको निर्माणका लागि डिपिआर तयार गर्न लागिएको हो। पहिलो चरणमा ५ सय बिघा क्षेत्रफल जमिन सम्याउने, नाला, खानेपानी, विद्युत्, सडक, सञ्चार सुविधाजस्ता पूर्वाधारको विकास गरिनेछ। पहिलो चरणको परियोजनामा करिब ६४ अर्ब रुपैयाँ (५ सय ८६ मिलियन अमेरिकी डलर) लगानी हुने अनुमान गरिएको छ।

परियोजना निर्माण गर्न दमक क्लिन इन्डस्ट्रियल पार्क (डिसिआइपी) प्रालिले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट स्वीकृति पाएको छ। डिसिआइपी प्रालिसँगको सहकार्यमा ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन र चाइना पिङ एन ग्रुप ट्रस्टले संयुक्त रूपमा उक्त पार्क निर्माणमा लगानी गर्न लागेका हुन्। सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गरिने यो परियोजनामा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने भएकाले पिपिपी ऐनअनुसार लगानी बोर्डले नियमन गरिरहेको छ। डिपिआर तयार भएपछि ऐनअनुसार परियोजना विकास सम्झौता (पिडिए) गरी आयोजना अगाडि बढाइने प्रवक्ता रिज्यालले बताउनुभयो।

औद्योगिक पार्कभित्र प्रदूषण कम हुने र निर्यातमुखी गार्मेन्ट, अटोमोबाइललगायत उद्योग स्थापना गर्ने लक्ष्य छ। यस परियोजनामा लगानी गर्न ल्हासा इकोनोमिक र पिङ ट्रस्टले संयुक्त रूपमा लगानी गर्न स्पेसल पर्पस इन्भेस्टमेन्ट भेइकल कम्पनी स्थापना गरेका छन्। उक्त कम्पनीको नाम ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ–पिङ जोइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट (जेपिजेसिसिपिडी) कम्पनी लिमिटेड हो।

दमक औद्योगिक क्षेत्र भनेर तोकिएको जग्गामा नेपाल–चीनमैत्री इन्डस्ट्रियल पार्क बनाउन डिसिआइपी प्रालि र जेपिजेसिसिपिडी कम्पनी लिमिटेडले ३० जुन २०१९ मा लगानी बोर्डसमक्ष प्रस्ताव गरेका थिए। लगानी बोर्डको ३९औँ बोर्ड बैंकले उक्त लगानी स्वीकृत गरिसकेको छ। सोही बैठकले नै यो आयोजनाको डिपिआर बनाउन डिसिआइपी प्रालि र जेपिजेसिसिपिडी कम्पनी लिमिटेडलाई स्वीकृति दिएको थियो।

चीन सरकारले अघि बढाएको 'बीआरआई' अन्तर्गत यो आयोजना विकास गर्न तीनै पक्षबीच सहकार्यका लागि २०१७ मेमा एक 'फ्रेमवर्क एग्रिमेन्ट'मा हस्ताक्षर भएको थियो। डिपिआर निर्माणका लागि कार्यादेशसहित ३ अगस्ट २०१९ मा परियोजना अघि बढाउने सम्बन्धमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र डिसिआइपीबीच समझदारी भएको थियो। २०१६ बाट नै उक्त परियोजना औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अघि बढाइरहेको थियो।

जानकारी तथा लेखहरु