फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भ्रमण वर्ष सफल बनाउन नेपालका राजनीतिक दल प्रतिबद्ध

(GMT+08:00) 2019-12-06 13:58:00

भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात हुन एक महिना पनि बाँकी छैन। यतिबेला उद्घाटन तयारीका काम पनि हुँदै छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय भ्रमण वर्षको अभियान सफल बनाउन यतिबेला हरेक क्षेत्रबाट समर्थन र सहयोग जुटाउने प्रयत्नमा छ।

बुधबार मात्रै नेपालस्थित विभिन्न ३१ देशका राजदूतसँग मन्त्रालयमै छलफल भएकोमा बिहीबार देशका प्रमुख राजनीतिक दलका नेता र भ्रातृ सङ्गठनका प्रतिनिधिसँग छलफल भयो। छलफलमा सहभागी सबै दलका नेताहरूले भ्रमण वर्ष सरकार वा कुनै एउटा दलको कार्यक्रम नभई साझा राष्ट्रिय स्वार्थ भएकाले अधिकतम सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका गोरखापत्र अनलाइनले लेखेको छ।

भ्रमण वर्षमा एकपटक मात्र नेपाल घुम्न आउने नभई यसलाई बारम्बार नेपाल गइरहने आधारका रूपमा अगाडि बढाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको सुझाव थियो। भ्रमण वर्ष राष्ट्रिय अभिभारा भएकाले सबै राजनीतिक दल र समाजले त्यही रूपमा ग्रहण गर्नुपर्ने उहाँको आग्रह थियो। उहाँले भ्रमण वर्ष सफल पार्न मन्त्रालयबाट हुने आग्रहलाई अधिकतम रूपमा सहयोग गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताउनुभयो। भ्रमण वर्षको उद्घाटनदेखि वर्षभर नै समस्त नेकपा र यसको जनवर्गीय सङ्गठन स्वयंसेवाका लागि उपस्थित छ र यसलाई त्यही रूपमा प्रयोग गर्न आग्रह गर्छु, उहाँले भन्नुभयो। छलफलमा उहाँले नेपालमा विश्वमा कतै उपलब्ध नरहेको प्राकृतिक सुन्दरता रहेकाले भ्रमण वर्षमार्फत यसको जानकारी फैलाउनुपर्ने सुझाव दिनुभयो। नेपाली काँगे्रसका नेता मोहनबहादुर बस्नेतले नेपालमा विभिन्न समयमा राजनीतिक उतारचढाव भए पनि अब सबैले आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बेला आएको बताउनुभयो। त्यसका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले आवश्यक पूर्वाधार बनाउन मन्त्रालयले बढी ध्यान दिनुपर्ने उहाँको सुझाव थियो। भ्रमण वर्ष सफल पार्न सबै सिङ्गो नेपाल एक भएर लाग्नुपर्ने र यसमा आफ्नो दलको सबै किसिमको सहयोग रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

यो नेकपा अथवा सरकारको मात्र हैन। सारा देशको सफलतासँग जोडिएको भएर हाम्रो आफ्नो दायित्व बुझेर सङ्गठनलाई परिचालन गर्न तयार छौँ, उहाँले भन्नुभयो।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले पहाडमा मात्र सीमित नेपालको पर्यटकीय गतिविधिलाई भ्रमण वर्षले तराईमा पनि विस्तार गरेकामा खुसी व्यक्त गर्नुभयो। पर्यटकीय पूर्वाधार बनाउँदा यसको सुरक्षाको विषयलाई पनि ध्यान दिन उहाँको सुझाव थियो। त्यस्तै उहाँले भ्रमण वर्ष सफल पार्न आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रोशन कार्कीले धार्मिक पर्यटनलाई पनि समेटेर भ्रमण वर्षको दायरा बढाउनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा अन्य दलका नेताले पनि भ्रमण वर्ष साझा लक्ष्य भएकाले यसको सफलताका लागि काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु