फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१३औँ सागमा स्वर्ण जित्नेमा नेपालका पुरुषभन्दा महिला खेलाडी अगाडि

(GMT+08:00) 2019-12-07 17:16:37

नेपाल चालु १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा शुक्रबारसम्म १६९ स्वर्ण छिनोफानो भएकोमा नेपालले ४१ स्वर्ण जितेको छ। स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन्। पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्‍याएका छन्। यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो। अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ। खासगरी स्विमिङ, एथलेटिक्स, भारोत्तोलन, ट्रायाथलन, साइक्लिङ, उसुलगायत खेलमा महिलाले नयाँ कीर्तिमान राखेका नयाँ पत्रिकाले लेखेको छ।

नेपालले सागको एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जितेको आफ्नै इतिहास पनि तोडेको छ। २० वर्षअघि आठौँ सागमा घरेलु मैदानमै ३१ स्वर्ण जितेको नेपालले १३औँ संस्करणको पाँचौँ दिनमै ४१ स्वर्णसहित नयाँ इतिहास रचेको हो।

आफैँले स्थापना गरेको सागमा स्वर्णमा शतकको सफलता पनि नेपालले जारी संस्करणबाटै प्राप्त गरेको छ। सन् १९८४ मा भएको पहिलो संस्करणमा धावक वैकुण्ठ मानन्धरले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। तर, स्वर्णसंख्या सय पुर्‍याउन नेपाललाई ३५ वर्ष लाग्यो। जारी प्रतियोगिताको चौथो दिन तेक्वान्दोका सक्षम कार्कीले ८७ केजी तौल समूहमा पाकिस्तानका वकार अलीलाई हराउँदै स्वर्ण पदक सय पुर्‍याउने कीर्तिमानमा आफ्नो नाम लेखाए।

तीन वर्षअघि भारतमा भएको १२औँ प्रतियोगितामा तीन स्वर्ण मात्रै लिएर फर्किएको नेपालले यसपटक अपेक्षा नगरेका खेलमा समेत कब्जा जमाएको छ। सागको तीन दशक लामो इतिहासमा पहिलोपटक पुरुष तथा महिला एथलेटिक्समा स्वर्ण जितेको छ। एथलेटिक्समा भारतीय र श्रीलंकन खेलाडी दाबेदार मानिन्थे। महिलातर्फ भारोत्तोलन र स्विमिङमा पनि पहिलोपटक स्वर्ण पाएको छ।

स्वर्ण र समग्र पदकमा आठौँ साफमा नेपाल दोस्रो बनेको थियो। जारी संस्करणमा पनि अहिलेसम्म दोस्रो स्थानमै छ। नेपालले अहिले पदक बढी प्राप्त गर्नुमा खेलाडीको मिहिनेत नै मुख्य पाटो हो। तर, सँगसँगै अन्य पाटो पनि जोडिएका छन्। आठौँ साफमा १२ खेल मात्रै थिए, अहिले २४ खेल समेटिएका छन्। त्यतिवेला १०६ स्वर्णका लागि प्रतिस्पर्धा थियो, अहिले स्वर्ण संख्या ३२४ छ। प्रतिशतमा हेर्दा यसपटकको नतिजाले आठौँ संस्करणको सफलतालाई भेट्टाउन सकेको छैन। आठौँमा नेपालले कुल स्वर्णको ३० प्रतिशत जितेकोमा यसपालि अहिलेसम्म १३ प्रतिशत मात्रै समेटेको छ। धेरै खेल र पदक भएकाले पनि यसपटक ५० स्वर्ण जित्ने लक्ष्य राष्ट्रिय खेलकुद परिषद्को छ।

घरेलु मैदानमा बढी पदक बटुल्ने अर्को पनि कारण छ। सागमा आयोजक राष्ट्रलाई कुन खेल राख्ने वा नराख्ने अधिकार हुन्छ। यही अधिकार प्रयोग गरेर आयोजकले पदक जित्ने खेल राख्ने र आफू कमजोर भएको खेल हटाउनेसम्म गर्छन्। १२औँ संस्करणमा भारतले आफू कमजोर भएको कराते खेल समावेश नै गरेको थिएन। नेपालले पनि यसपटक आफ्नो राम्रो धरातल रहेको मार्सल आर्टका सबै खेल समावेश गर्‍यो। स्वर्णको ऐतिहासिक प्रदर्शनमा नेपाललाई मार्सल आर्टकै योगदान धेरै छ। तेक्वान्दोमा २९ मध्ये १२ स्वर्ण नेपालले फुत्किन दिएन। करातेमा पनि १९ मध्ये १० स्वर्ण आफैँ राख्न सफल भयो। आठौँ साफमा पनि तेक्वान्दो र करातेबाटै स्वर्ण संख्या ह्वात्तै बढाएको थियो। त्यस्तै नेपालले पदकको आशा गरेको उसुमा पाँच, साइक्लिङमा चार तथा एथलेटिक्स, ट्रायथलन, भारोत्तोलन, स्विमिङ र गल्फमा दुई/दुई स्वर्ण समेटेको छ।

जानकारी तथा लेखहरु