फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यक्तिगत लगानीमा पक्की पुल

(GMT+08:00) 2019-12-10 18:12:17
दमौलीका दशजना व्यवसायीहरुको निजी लगानीमा पक्की पुल निर्माण भएको छ। दमौलीका दशजना व्यवसायीहरुले व्यक्तिगत एक करोड ३० लाख रुपैयाँ लगानी गरेर व्यास नगरपालिकाको वडा नम्बर १ को अम्रेनी र वडा नम्बर ११ जोड्ने बुल्दी खोलामा पक्की मोटर चल्ने पक्की पुल निर्माण गरेका हुन्।

व्यवसायीहरु काशीराम श्रेष्ठ, बुद्धीराज मिश्र, तिलबहादुर थापा, निरबहादुर ठकुरी, दिलबहादुर दरै, यमबहादुर दरै, किनकुमार श्रेष्ठ, सकिद दरै, सुर्यबहादुर मल्ल र प्रकाश मल्लले १५ मिटर लम्बाई र ६ मिटर चौडाईको उक्त पुल व्यास नगरपालिकालाई हस्तान्तरण समेत गरेका छन्। पुल उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले व्यवसायीहरु नाफा कमाउन मात्र हैन सामाजिक उत्तरदायत्विको काममा समेत सक्रिय भएको र राज्यले गर्नु पर्ने विकासको काममा युवाहरुको सक्रियताले नगरपालिका निकै खुसी भएको बताएका छन्।

सो अवसरमा पुल निर्माणकर्ता व्यवसायी एवं व्यास नपा वडा नम्बर २ का अध्यक्ष काशीराम श्रेष्ठले विकासको काममा राज्यलाई सहयोग गर्ने उद्देश्यले पुल निर्माण गरेको बताए। दुई वडाका जनता पुलको अभावमा निकै दुःख पाएको देखेपछि १० भाई मिलेर पुल निर्माणमा रकम लगानी गरेको उनको भनाइ छ।

अर्का व्यवसायी दिलबहादुर दरैले व्यवसायसँगै समाजसेव पनि गर्ने उद्देश्यले १० जना मिलेर १३ /१३ लाख रुपैयाँ संकलन गरि पक्की पुल निर्माण गरिएको बताए। १० जना व्यवसायीको व्यक्तिगत लगानीमा निर्माण गरिएको कारणले उक्त पुलको नाम पनि दश भाई पुल राखिएको गोरखापत्र अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु