फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मोबाइलबाटै गर्भवतीको स्याहार

(GMT+08:00) 2019-12-14 15:22:40
स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीयता बढाउने अभियानमा लागेको स्याङ्जाको फेदीखोला गाउँपालिकाले गर्भवतीलाई लक्षित मेडिक मोबाइल प्रविधि सुरु गरेको छ। एक बर्षबाट घर घरमै पुगेर बृद्धबृद्धाको स्वास्थ्य स्याहार गरेको फेदिखोलाले पालिका भित्र रहेका स्वयंसेविका मार्फत गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम लागु गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए।

नियमित रुपमा स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको प्रविधिमा एक पटक गर्भवतीको नाम दर्ता भइसके पछि स्वास्थ्य संस्था नगए तुरुन्त स्वयंसेविकाको मेडिक मोबाइलमा म्यासेज आउने सुबेदीले बताए। दुई पटक म्यासेज पठाउँदा पनि महिला स्वास्थ्य संस्थामा जाँच गर्न नगए तेस्रो म्यासेज सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई जाने र स्वास्थ्य संस्थामा नजाने महिलाहरुलाई फलोअप गर्न स्वयंसेविकालाई सहज हुने बताए।

प्रविधि मार्फत महिलाहरु नियमित रुपमा स्वास्थ्य जाँचको लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेक जाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेख्य सुधार ल्याउने स्वास्थ्य शाखाको लक्ष्य रहेको छ। तत्काल गर्नुपर्ने उपचार तथा स्वास्थ्य जाँचबारे मोबाइलबाटै सन्देश पठाउन मिल्ने र सन्देश सर्भर मार्फत स्वास्थ्य कार्यालय र मेडिक मोबाइलमा पुग्ने गोरखापत्र अनलाइनले लेखेको छ।

गाउँपालिकाले ३६ जना स्वयसेविकालाई सिम सहित फिचर फोन र ४ वटा स्वास्थ्य चौकीलाई ४ वटा एन्ड्रोइड फोन प्रदान गरेको सुवेदीले बताए। १० लाख बजेटको कार्यक्रम भएको बताउदै सबेदीले मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाईल स्वास्थ्य कार्यक्रम प्रभाबकारी हुने बताए। प्रविधिको भरपुर उपयोग गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप मेडिक मोवाइल प्रविधिको सुरुवात गरिएको अध्यक्ष सुवेदीको तर्क छ।

प्रविधिको माध्यमबाट मातृ तथा शिशु मृत्यु दर शुन्य तहमा पुर्याउन सकिने र सुरक्षित मातृत्वको लागि तथ्यांकको व्यवस्थापन र अभिलेखन पनि तथ्यपरक बन्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खिलप्रसाद पौडेलले बताए। पाचँ वटा वडा रहेको फेदिखोलामा तिन सय ४८ जना गर्भवती महिलाको तथ्याङ् रहेको र तथ्याङ् अनुसार मेडिक मोबाईल सेवा दिइने बताए।

जानकारी तथा लेखहरु