फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सवारी साधन उद्योगमा लगानी बढ्दै

(GMT+08:00) 2019-12-15 15:58:58

नेपालमा सवारी साधनको बजार वृद्धि हुने देखेपछि स्वदेशी तथा विदेशी लगानीकर्ता यसको उद्योगमा लगानी गर्न उत्सुक देखिएका छन्। अहिलेसम्म नेपालमा बजाज बाइकको मात्र एसेम्बलिङ उद्योग रहेकोमा कोरियन लगानीकर्ताले चारपांग्रे गाडीको एसेम्बलिङ प्लान्ट स्थापना गर्ने तयारी गरेका छन्।

कोरियाली कम्पनी 'मोटेक्स'ले करिब साढे १० अर्ब रुपैयाँ लगानीमा उद्योग स्थापना गर्न लगानी बोर्डसँग सम्झौता गरेको छ। यहाँका बजारमा प्रयोग हुने सवारी साधन शतप्रतिशत विदेशबाट आयात हुँदै आएकोमा पछिल्ला वर्ष मोटरसाइकल र चारपांग्रे एसेम्बलिङ उद्योगमा लगानी बढ्दै गएको हो।

गोल्छा अर्गनाइजेन अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज बाइक उत्पादन गर्दै आएको छ। टिभिएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले करिब सय करोड रुपैयाँ लगानीमा टिभिएस मोटरसाइकलको एसेम्बलिङ उद्योग निर्माण गरिरहेको छ। अर्को व्यापारिक घराना ज्योति ग्रुपले होन्डाको प्लान्ट स्थापना गर्ने गृहकार्य गरिरहेको छ।

सडक पूर्वाधार निर्माण, सवारी साधन अनिवार्य आवश्यकताको वस्तु बनेपछि स्वदेशी तथा विदेशी लगानीकर्ताले नेपालमा सवारी साधन एसेम्बलिङ उद्योगमा लगानी गर्न उत्सुक देखिएका हुन्। अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष शम्भु दाहाल सवारी साधन उद्योगमा अवसर रहेकाले लगानी गर्न आएको बताउँछन्। मुलुकमा पूर्वाधार विकास बढेर गाउँ–गाउँमा सडक पुगेसँगै मोटरसाइकलको माग बढिरहेको छ।

नेपालमा वार्षिक करिब एक खर्ब रुपैयाँ बराबरको सवारी साधन र तिनका पार्टपुर्जा बिक्री हुन्छ। आर्थिक वर्ष ०७५/७६ मा ९१ अर्ब १५ करोड ८७ लाख रुपैयाँका सवारी साधन र पार्टपुर्जा आयात भएको थियो। मुलुकमा सवारी साधनको संख्या करिब ३६ लाखभन्दा धेरै रहेको भन्सार विभागले जनाएको छ। ३६ लाख सवारीमध्ये २५ लाखभन्दा बढी मोटरसाइकल छन्। करिब ११ लाख कार, जिप, बस, ट्रकलगायत ठूला सवारी साधन छन्। पछिल्लो एक दशकमा सवारी साधन साढे दुई गुणा थपिएका छन्। आर्थिक वर्ष ०६६/६७ मा १० लाख १५ हजार दुई सय ७१ सवारी साधन दर्ता भएकोमा आर्थिक वर्ष ०७५/७६ सम्म आइपुग्दा यो संख्या बढेर करिब ३६ लाख पुगेको छ।

जानकारी तथा लेखहरु