फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रेटवालको झल्को दिने गरी सिन्धुपाल्चोकमा लामो पर्खाल बनाइँदै

(GMT+08:00) 2020-02-03 16:50:44

सिन्धुपाल्चोकमा ह्योल्मो परम्पराको धर्मचक्र पर्खालअनुसार धमाधम बन्दै गरेको सम्भवतः ग्रेटवालको झल्को दिने 'हिमालयन ग्रेट ट्रेल' मा पुग्ने जो कोही दंग पर्छन् । हेलम्बु गाउँपालिकाले हिमाली क्षेत्र घोप्टेघ्याङमा विश्वकै अग्लो चिनको ग्रेटवालको अनुसरण गरी बनाइरहेको ६० किलोमिटरमा एक सय १० मिटरको काम सकिसकेको छ। हेलम्बु सरकारको 'हिमालयन ग्रेट ट्रेल' पुगेपछि वरिपरिका डाँडा र प्राकृतिक संरचनाले जसलाई पनि तान्छ ।

पर्यटकीय गुरुयोजनाअन्तर्गत ठूलो योजना 'हेलम्बु हिमालयन ग्रेट ट्रेल' को डीपीआर सकेलगत्तै कामलाई तीव्र बनाइएको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताउनुभयो। घोप्टेघ्याङमा एक सय १० मिटरको काम सकेर हालै नागिडाँडा–शेर्माथान र शेर्माथानबाट गुरु रेन्पोछे डाँडासम्म झन्डै चार सय मिटर संरचनाको काम थालिएको छ।

हेलम्बुको बुद्धपार्कबाट सुरु हुने पर्यटकीय ट्रेल शेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमाक्षेत्र (ह्योल्मो परम्पराकी धनकी देवी) आमायांग्री क्षेत्रसँग जोडिनेछ । त्यहींबाट ढुक्पु–भेमेथाङ अर्थात् (गुरु रेन्पोछे तपस्यास्थल) –पासाङसिरी– गुफुपोखरी– जलंसा– दवालाङ्गगुफा–सेमीसिदाङ्ग हिमाल क्षेत्रमा पुग्नेछ । भौगोलिक अवस्थालाई नबिगारीकन निर्माण गर्न लागिएको हेलम्बु ट्रेलमा रुख नहुने स्थानमा वृक्षरोपण गरिने अनिवार्य नियम बनाइएको कान्तिपुर अनलाइनले जनाएको छ ।

जानकारी तथा लेखहरु