फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

औद्योगिक तथा कृषिजन्य वस्तु उत्पादन नहुँदा एक सय १० भन्दा बढी मुलुकसँग नेपालको व्यापार घाटा

(GMT+08:00) 2020-02-04 16:02:29
स्वदेशमा औद्योगिक तथा कृषिजन्य वस्तु उत्पादन वृद्धि नहुँदा नेपालले एक सय १० भन्दा बढी मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ। नेपालले एक सय ४० भन्दा बढी मुलुकसँग कारोबार गर्दै आए पनि न्यून कारोबार हुने आइसल्यान्ड, मालदिभ्स, सुडान, अफगानिस्तान, मंगोलिया, कंगो, पूर्वी टिमोरलगायत ३० मुलुकबाहेक सबैसँग ठूलो व्यापार घाटा रहेको नागरिकन्यूज डटकममा खबर छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ व्यापार घाटा छ। गत वर्षभन्दा व्यापार घाटा केही कम भए पनि अहिले पनि मुलुकले मासिक एक खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोरिरहेको भन्सार विभागले जनाएको छ। मुलुकको व्यापार घाटा भयावह बन्दै गएको भन्दै पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले चिन्ता व्यक्त गर्नुभयो।

भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अमेरिका, क्यानाडालगायत मुलुकसँग धेरै घाटा रहेको छ। भारतबाट चार खर्ब २३ अर्ब ८३ करोड रुपैयाँका वस्तु आयात भएकोमा ४० अर्ब रुपैयाँको मात्र निर्यात भएको छ। कुल व्यापार घाटाको आधा भारतसँग छ। विभागका अनुसार भारतसँग तीन खर्ब ८३ अर्ब ६९ करोड रुपैयाँ घाटा छ। चीनसँग एक खर्ब १७ अर्ब २३ करोड, इन्डोनेसियासँग २० अर्ब ११ करोड रुपैयाँ, युनाइटेड अरब इमिरेट्ससँग १० अर्ब २३ करोड, अमेरिकासँग चार अर्ब ६० करोड, क्यानाडासँग ६ अर्ब ५८ करोड, स्विजरल्यान्डसँग पाँच अर्ब २८ करोड रुपैयाँ घाटा छ।

एक दशकको तथ्यांक हेर्दा मुलुकको व्यापार घाटा ६ गुणाले बढेको छ। मुलुकको वार्षिक बजेटभन्दा ठूलो व्यापार घाटा रहेको छ। आव ०६५/६६ मा व्यापार घाटा दुई खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा गत आवमा ०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जुन मुलुकको बजेट बराबर हो। सरकारले मुलुकमा औद्योगिकीकरण गरेर उत्पादन बढाउने बताइरहँदा मुलुकको व्यापार घाटा अपेक्षित रुपमा घट्न सकेको छैन। स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात गर्दा व्यापार घाटा भएको हो। उद्योगधन्दाका लागि कच्चा पदार्थ, पेट्रोलियम पदार्थलगायत सामग्री आयात हुन स्वाभाविक भए पनि यहाँ किसानले फलाउन सक्ने तरकारी, फलफूल, खाद्यान्नलगायत वस्तुमा पनि विदेशीको भर पर्नुपर्ने अवस्था चिन्ताजनक छ।

स्वदेशी उद्योगको संरक्षण गर्न यहाँ उत्पादन भएका वस्तुको प्रयोग अनिवार्य गराउने प्रयास गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। चिया, कफी, दुग्ध पदार्थ, घिउ, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सक्खर चकलेट, चुइङगम, पास्ता, जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाललगायत कृषिजन्य तथा औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता वस्तुको आयातमा भन्सार दर बढाएको छ। निर्माण सामग्री प्रयोग गर्दा सिमेन्ट, काठ, छड, रङलगायत स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिने सरकारले नीति लिएको छ। उत्पादन बढाउनका लागि चालु आवको बजेटमा स्वदेशमा उत्पादन हुने वस्तुलाई आयातमा कडाइ गरेको छ।

जानकारी तथा लेखहरु